काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गरेका छन् । भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा अपील गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्दार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा छु । पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा हार्दिक अपील गर्दछु ।’
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । हालसम्म जाजरकोट र रुकुम पश्चिममा गरी १३६ जनाले ज्यान गुमाइसकेका छन् ।