१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति ६.४ को भूकम्पबा हालसम्म मृत्यु हुनेको संख्या १२८ र घाइतेहरुको संख्या १४० र कयौं संख्याको खोजीकार्य भएकाले सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएको छ ।
रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएका छन् ।
रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् । तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन । रुकुमका एयरपोर्टहरुमा साना ट्वीनअटर हवाईजहाजमात्र उडान हुने गरेका छन् ।
जाजरकोट जिल्ला र चौरजहारी नजिक भएकाले चौरजहारी एयरपोर्टबाट जाजरकोटमा पनि सेवा पुर्याउन सकिने सरकारको विश्वास छ ।
यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत् रुकुम प्रस्थान गरेका छन् ।