बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड रकम दसैँभत्ता

बागमती प्रदेशका मन्त्री, सांसद र स्वकीय सचिवहरुले झण्डै १ करोड अर्थात् ९८ लाख रुपैयाँ भन्दा बढी रकम दसैँभत्ता बुझेका छन् । प्रदेश सरकारका ६ मन्त्री, सभामुख र उपसभमुख, ९६ जना सांसदसहित स्वकीयहरुको दसैँभत्ताका लागि ९८ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ ।

बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सभामुख, उपसभामुखसहित ९६ सांसद र तिनका स्वकीयहरुलाई दसैँभत्ता उपलब्ध गराएको हो भने मन्त्रीहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले वितरण गरेको हो ।
GCI COLLEGE

सभामुख, उपसभामुखसहित सांसद र स्वकीयलाई ८५ लाख ११ हजार ५५० रुपैयाँ भत्ताबापत वितरण गरिएको सचिवालयले जानकारी दिएको छ । मन्त्री र मन्त्रीका स्वकीयहरुका लागि १३ लाख ७१ हजार ९४१ रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेटौंडाले जनाएको छ । मन्त्री, संसद र स्वकीयहरुको दसैँभत्ता वापत् प्रदेश सरकारको ढुकुटीबाट ९८ लाख ८३ हजार ४९१ रुपैयाँ खर्च भएको छ ।

दसैँ भत्ता बापतको रकम ९६ जना सांसदहरुलाई ४९ लाख ५९ हजार रुपैयाँ र स्वकीय सचिवहरूलाई ३२ लाख ९९ हजार ३ सय ५० रुपैयाँ, सभामुख, उपसभामुख र प्रतिपक्षी दलका नेतालाई १ लाख ७७ हजार रुपैयाँ र तिनका स्वकीयहरूलाई १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्तावापत दिइएको हो ।

प्रदेशमा १२ जना मन्त्रीमध्ये ६ जनाले मात्र दसैँभत्ता भुझेका छन् भने अन्य ६ जना मन्त्रीले बुझेका छैनन् । ६ जना मन्त्रीको नियुक्तिको अवधि ६ महिना पुरा नभएकाले उनीहरुलाई अन्य सरह दसैँभत्ता वितरण नगराइएको मुख्यमन्त्री कार्यलयका लेखा अधिकृत देवीप्रसाद गौतमले बताए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दसैँ भत्तावापत ७० हजार ७३० रुपैयाँ तथा ५ जना मन्त्रीहरुले जनही ६० हजार ३२० रुपैयाँ बुझेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुका राजनीतिक सल्लाहकार, स्वकीय सचिव, सुरक्षा गार्ड, सवारी चालक, कार्यलय सहयोगीलगायत २९ जनाले ३ लाख ७२ हजार रुपैयाँ दसैँभत्ता बुझेका छन् ।

बागमती प्रदेशसभा सचिवालयका लेखाअधिकृत बालकृष्ण अधिकारीका अनुसार प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलार्ई ६१ हजार ४५० रुपैयाँ, उपसभामुख अप्सरा चापागाईंलाई ५८ हजार रुपैयाँ र प्रतिपक्षी दलका नेतालाई पनि ५८ हजार रुपैयाँ दसैँ भत्ता दिइएको छ । उनीहरुका स्वकीय सचिवहरुलाई कुल १ लाख १२ हजार २२८ रुपैयाँ दसैँभत्ता वितरण गरिएको छ ।

सचिवालयले दसैँभत्ता वापत सत्तारुढ दलका मुख्य सचेतकलाई ५६ हजार ८४० रुपैयाँ र विपक्षी दलका प्रमुख सचेतकलाई ५४ हजार ५२० रुपैयाँ दसैँभत्ता उपलब्ध गराएको छ ।

उता, ९३ जना प्रदेशसभा सदस्यले जनही ५२ हजार दुई सय रुपैयाँका दरले ४८ लाख ५४ हजार ६०० रुपैयाँ दसैँभत्ता बैंक दाखिला गरिएको छ भने उनीहरुको स्वकीय सचिवले ३४ हजार ७३० रुपैयाँका दरले ३२ लाख २९ हजार ८९० रुपैयाँ दसैंभत्ता लिएका छन् ।

प्रदेशसभाका संसदीय समितिका सभापतिलाई भने दसैँभत्ता वितरण नगरिएको उनले बताए । संसदीय समितिको निर्वाचन नभएको र ज्येष्ठ सदस्यहरुबाट काम भइरहेकाले दसैँभत्ता उपलब्ध नगराइएको उनको भनाई छ ।

प्रदेशसभा सचिवालयले सभामुख पाठकका स्वकीय सचिव २ जनालाई उपसचिवसरह ४० हजार ३८० रुपैयाँ, शाखा अधिकृत सरहले ३५ हजार ९ सय ९०, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको स्वकीय सचिवलाई शाखा अधिकृतसरह ३५ हजार ९९० र बाँकी सांसदहरुको स्वकीय सचिवलाई नायव सुब्बासरह ३४ हजार ७३० रुपैयाँ दसैँभत्ता खर्च वितरण गरेको
छ ।

रातोपाटीबाट