Breaking News

गठबन्धनमा कांग्रेस कोशी विद्रोहको झड्का, सत्ता राजनीतिमा नयाँ तरंग

काठमाडौं । राष्ट्रिय राजनीति, सत्ता गठबन्धन र कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा हलचल आउनेगरी कोशी प्रदेशमा सत्ता राजनीतिको कोर्स सुरु भएको छ । केन्द्रमा माओवादी नेतृत्वमा सरकार गठनका लागि सत्ता गठबन्धनभित्र सहमति भएपनि एमालेको समर्थनमा कांग्रेसका डा. शेखर कोइराला समूहले मुुख्यमन्त्री हात पारेपछि कोशीको सत्ता राजनीतिमा नयाँ तरंग आएको हो ।

गत शुक्रबार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा आ–आफ्नो दाबी प्रस्तुत गरेका थिए । त्यसले सिंगो नेपाली राजनीतिमै तरंग पैदा ग¥यो । आङ्बो र कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम दाबी पेस गरेपनि कार्कीले बहुमत सांसदको सनाखत गराएका थिए ।

कोशीबाट एमालेले सत्ता गठबन्धनभित्र अन्तर्विरोध र संकट पैदा गर्ने रणनीतिक कदम चालेको थियो । एमालेसँग मिनेन्द्र रिजालले समन्वय गरिरहेका थिए । जसको परिणाम शनिबार प्राप्त भयो ।

प्रदेश प्रमुख परशुराम खापुङले सत्ता गठबन्धनबाट दाबी गरेका माओवादी संसदीय दलका नेता आङ्बो वा एमालेको समर्थनमा डा. शेखर कोइराला समूहले अगाडि सारेका केदार कार्कीमध्ये कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्नेबारेमा सत्ता राजनीतिको प्रभावले शुक्रबार कुनै निर्णय गर्न नसकपछि शनिबारलाई सारेका थिए । शनिबार एमालेका ३९ र कांग्रेसका आठ सांसद प्रदेश प्रमुखको कार्यालयका उपस्थित भएपछि बहुमत संख्या पुगेकाले कार्की मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् ।

प्रदेश प्रमुख खापुङले दिएको ६ दिनको समयसीमा सकिनु अघिल्लो दिन बिहीबार कोशीमा पाँचौँ सरकार गठनका लागि माओवादीले कांग्रेसको संस्थापन समूहको समर्थन र कांग्रेसका केदार कार्कीले कोइराला समूहको नेतृत्व गर्दै मुख्यमन्त्रीको दाबी गरेका थिए । यो घट्नाक्रममलाई अघिल्लो पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा लाइन लागेर उपस्थित भएको प्रसँगलाई जोड्न सकिन्छ ।

कोशी प्रदेशसभामा सभामुख छैनन् । उपसभामुख एमालेकी सिर्जना दनुवार छन् । जस्तो कि कांग्रेस संसदीय दलले ८ जना सांसदलाई कारबाही गरेर पदमुक्त गर्न खोजे पनि सो निर्णय कार्यान्वयन नगर्न तत्कालीन सभामुख अग्नि सापकोटाको नजिरलाई टेक्ने निश्चित थियो । यसरी गठबन्धन आफैंले स्थापित गरेका नजिर र परमादेशको परिबन्दमा परेपछि शेखर कोइराला र उनका समर्थकले जोखिमपूर्ण यात्रा गरेको स्पष्ट छ ।

माओवादीका आङ्बोलाई माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपाको साथ रहँदा सबैभन्दा ठूलो दल एमाले कार्कीको पक्षमा उभिएको थियो । प्रदेश प्रमुखले दिएको समयसीमाभन्दा एक दिनअगाडि केन्द्रमा सत्तागठबन्धनका दलहरू बसेर माओवादी नेतृत्वमा सरकार बनाउने निर्णय लिएका थिए । सोहीअनुसार आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । सत्ता गठबन्धनमा ४७ सांसद नभएका होइनन । तर, कांग्रेसको संस्थापन पक्षबाट सधै पेलानमा परेको शेखर कोइराला समूहले कोशी प्रदेशबाट संस्थापनलाई चुनौती थियो ।

अर्कोतर्फ कांग्रेसका आठ र एमालेका ३९ जना सांसदको हस्ताक्षर लिएर कार्कीले मुख्यमन्त्रीमा नियुक्ति लिइछाडे । कांग्रेसका सांसदको हस्ताक्षर दुवैतिर प्रयोग भएको थियो । तर, आठजना कार्कीको पक्षमा शशरीर उभिए । एमालेका ४० सांसद रहेपनि उपसभामुखले हस्ताक्षर गरिनन् र ३९ जना सशरीर उपस्थित भए । कार्कीको पक्षमा हस्ताक्षर गर्ने कांग्रेसका डा. कोइराला पक्षका थिए  ।

प्रदेश प्रमुखसमक्ष पेस भएका दाबीमा कोइराला समूहका सांसद केदार कार्की, रामकुमार खत्री, शमशेर राई, इन्दिरा थापा, लीलाकुमारी राई, गोविन्द गिरी, मानबहादुर लिम्बू र सुनिताकुमारी गुरुङको हस्ताक्षर थियो । कोशीमा ६ जना सांसद रहेको राप्रपाले भने दुवै उम्मेदवारलाई समर्थन गरेन ।

केन्द्रमा सात दलका शीर्ष नेताबीच बालुवाटारमा माओवादी संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने लिखित सहमति भएको थियो । ‘कोशी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको सन्दर्भमा कोशी प्रदेशको मुख्यमन्त्रीका लागि माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई समर्थन गर्ने निर्णय गरियो,’ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोसपा अध्यक्ष महन्थ ठाकुर, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, जसपा प्रमुख सचेतक प्रदीप यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको सहमतिपत्रमा भनिएको थियो ।

त्यो हस्ताक्षर शुक्रबार कांग्रेसका आठ सांसदले लत्याइदिए । यसो हेर्दा माओवादी र कांग्रेस दुवैलाई नैतिक संकट उत्पन्न भएको थियो । तर, शनिबार प्रचण्डले शेरबहादुर देउवा र शेखर कोइरालालाई वालुवाटारमा बोलाएर माओवादीले कार्कीलाई समर्थन गर्ने बताएर लाचरीका साथ प्रस्तुत भइदिए ।

जसले गर्दा कांग्रेसलाई सहज भयो । आफ्नो गृहप्रदेश कोशीमा हरहालतमा आफूनिकट व्यक्तिलाई मुख्यमन्त्री बनाउने रणनीतिअनुसार प्रतिष्ठा बनाएर काम गरेका डा. कोइरालले सत्ता गठबन्धनलाई संकटमै पार्ने गरी कदम चालेकाले प्रचण्डले समर्थन रहेको जनाएर केही सहजीकरण गरेका थिए ।

कोइरालाले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई भेटेर कोशीमा कार्कीलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री लचक देखिएपनि देउवाले भने कोइरालाको प्रस्ताव अस्वीकार गरेका थिए । भेटमा कोइरालाले राजनीतिमा अर्को बाटो भएको बताएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, नेता कृष्ण सिटौला आफ्नो पार्टीलाई भन्दा माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएकाले कोइराला समूह चिढिएको थियो ।

संघमा पराकम्प

कोइराला समूहले एमालेसँग मिलेर कोशीमा सरकार गठनको बाटो लिएपछि केन्द्रको समीकरणको भविष्यमाथि प्रश्न उठेको छ । कांग्रेसको आन्तरिक राजनीति र सत्तागठबन्धनमा यसको असर पर्न सक्ने आकलन राजनीतिक वृत्तमा छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादव कोशीको विषयले गठबन्धन र कांग्रेसको आन्तरिक राजनीतिमा कुनै असर नपर्ने दाबी गरेपनि कांग्रेसका नेताहरुले प्रचण्डको विकल्पबारे छलफल थालिसकेका छन् ।

एमालेको समर्थनमा कांग्रेसको अर्को समूहको मुख्यमन्त्रीमा बनाएसँगै केन्द्रमा प्रचण्डको विकल्पबारे छलफल थालेको हो । यसमा पर्दा पछाडिका खेलाडी मानिएका मिनेन्द्र रिजाल सहभागी भएको स्रोतले जनाएको छ ।

नेकपा माओवादी सचिव गणेश शाह कांग्रेसभित्र देखिएको असमझदारी कोशीमा देखिएको र यसमा एमालेले गठबन्धन टुटाउने प्रयासका रूपमा उपयोग गर्न चाहेको टिप्पणी गरे । ‘केन्द्रमा गठबन्धनमा एउटा सहमति हुँदा कांग्रेसभित्रको असमझदारी कोशीमा देखियो । त्यसमा एमालेले फाइदा उठाउन खोजेको छ । पहिलेदेखि एमालेले गठबन्धनलाई टुटाउन प्रयास गरिरहेको छ ’, शाहले भने ।

गठबन्धनको अर्को दल एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कोशीको घटना क्रमले केन्द्रको समीकरणमा कुनै असर नपर्ने भए पनि समस्या सुरु गरेको स्वीकार गरेका छन् ।

एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग सहयोगका लागि आग्रह गरेका थिए । एमालेले मुलुकको अवस्था हेरेर तत्काल मध्यावधि रोक्न सरकार बन्ने अवस्थामा सहयोग गरेको भण्डारीको भनाइ छ ।

प्रदेशमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ सांसद छन । जम्मा ९३ जना सांसद रहेको कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद आवश्यक थियो । कार्कीको पक्षमा एमालेले उपसभामुखबाहेक ३९ र कांग्रेसको शेखर समूह आठ गरी ४७ जनाको हस्ताक्षर जुटाएका थिए ।

मुख्यमन्त्री कार्कीलाई भारी बहुमत

यसैबीच मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ को उपधारा ५ मा अनुसार मुख्यमन्त्री बनेका कार्कीले नियुक्त भएको पाँच दिनमै विश्वासको मत लिएका हुन् । विश्वासको मतको प्रस्तावको पक्षमा ८६ मत परेको थियो । ९३ सदस्यीय प्रदेश सभामा रहेको प्रदेशसमामा विपक्षमा ५ मत परेको थियो । मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाहेक सबै दलका सांसदले मत दिएका हुन् ।

दृष्टिबाट