नेपाली काँग्रेसबाट बिद्रोह गरी कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्की आजको प्रदेशसभा बैठकबाट प्रचण्ड बहुमत पाएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट दुई तिहाइ बढी सांसदको समर्थन पाएका छन्।
आफ्नै दल नेपाली कांग्रेस र सत्ता गठबन्धनको संस्थागत निर्णयको विपक्षमा उभिएर विद्रोह गर्दै मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गरेको थियो। सत्ता गठबन्धनभित्रको असन्तोषमा खेल्न कार्कीलाई मुख्यमन्त्री बन्न सघाएको एमालेलाई त्रस्त पार्ने गरी गठबन्धन दलहरूले पनि विश्वासको मत दिएका छन्।
कांग्रेसका विद्रोही कार्कीलाई सघाएको एमाले सरकारमा गठबन्धनका दलहरूको प्रवेश रोक्न लागेको छ। तर, गठबन्धन दलहरू भने कार्की नेतृत्वको सरकारलाई आफ्नै बनाउने प्रयासमा लागेका छन्।
कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य आड दिने कांग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको बालुवाटार सहमति प्रदेशमा कार्यान्वयन हुने आशामा गठबन्धन दलहरू छन्।
यसरी पहिले विद्रोहीलाई सघाएर आफूलाई माथ दिएको एमालेलाई विपक्षमा पुर्याउने स्वार्थसहित गठबन्धन दलहरूले विश्वासको मत दिएका हुन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्। उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत परेको घोषणा गरिन्। राप्रपाका पाँच सांसदले विपक्षमा मत दिए। राप्रपाका एक जना सांसद बैठकमा अनुपस्थित थिए।
मुख्यमन्त्री कार्कीलाई उनकै दल कांग्रेस (२९) एमाले (३९)०, माओवादी केन्द्र (१३), एकीकृत समाजवादी (४) र जनता समाजवादी (१) गरी ८६ जना सांसदले विश्वासको मत दिएका हुन्।
गठबन्धनलाई चुनौती दिएर प्रदेशको कार्यकारी प्रमुख बन्न पुगेका मुख्यमन्त्री कार्कीले सबैजसो दलको मत पाएपछि कोशी प्रदेशको सत्ता राजनीति फेरि एकपटक रोचक मोडतिर अघि बढेको छ।