Breaking News

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति नेता डा. शेखर कोइराला आपत्ति

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै शङ्का व्यक्त गरेका छन् ।

सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने उल्लेख गरेका छन् ।

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ उनले लेखेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो ।