Breaking News

इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने : स्वदेश फर्किन चाहने नेपालीलाई दुतावासले टिकट काटेर पठाउने

काठमाडौँ । इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने भएको छ । इजरायलबाट नियमित रूपमा व्यवसायी उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई तिनै फ्लाइट मार्फत व्यवस्थापन गरिने भएको हो ।

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि चाटर्ड फ्लाइट मार्फत ल्याउने सरकारले निर्णय गरेको थियो । सोही आधारमा शुक्रवार राति २५४ जना विद्यार्थीलाई स्वदेश फर्काइएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ नेपाल एयरलाइन्सको विमानसहित इजरायल पुगेका थिए ।

तर, अब भने चाटर्ड फ्लाइट नै गरेर उद्धार गरिनेछैन । नेपाल फर्किन चाहनेहरूलाई नियमित व्यवसायीक फ्लाइट मार्फत फर्किने व्यवस्था मिलाइने सरकारले जनाएको छ । हवाई टिकट भने सरकारले बेहोर्नेछ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्किन चाहने नेपालीको टिकट इजरायलस्थित नेपाली दूतावासले काटिदिनेछ । अनलाइनमार्फत रजिस्ट्रेसन फर्म भरेका नेपालीहरूलाई घर फर्किन सहजीकरण गर्ने र टिकट दूतावासले नै काटिदिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो । सोही आधारमा टिकटको व्यवस्थापन गर्ने जिम्मा दूतावासलाई दिइएको परराष्ट्र स्रोतले भन्यो ।

विद्यार्थीहरू बढी जोखिममा रहेकाले सरकारले चार्टड फ्लाइट नै गरेर उद्धार गरेको थियो । हाल इजरायलमा ४ हजार ५०० भन्दा बढी नेपालीहरू छन् । उनीहरू अधिकांश केयर गिभरको रूपमा काम गर्दै आएका छन् । उनीहरूलाई धेरै जोखिम नरहेको दूतावासले जनाएको छ ।

उनीहरुले आउन चाहेको खण्डमा व्यवसायी उडानको टिकट काटिदिने र सोही आधारमा आउन सक्ने दूतावासले जनाएको
छ ।

नेपाल फर्किनको लागि हालसम्म नेपाल फर्किएका बाहेक २०० जना भन्दा बढीले अनलाइन आवेदन भरेका दूतावासले जनाएको छ । उनीहरुले घर फर्किन चाहेमा व्यावसायिक उडानमार्फत फर्किने व्यवस्था मिलाइएको हो ।

‘अब चाटर्ड फ्लाइट हुँदैन । अत्यावश्यक परेको खण्डमा त भइहाल्छ । तर, अहिलेको अवस्थामा हुँदैन होला । इजरायलबाट व्यवसायी उडान पनि नियमित भइरहेकाले त्यहीबाट घर फर्किन चाहनेको टिकट भने दूतावासले काटिदिन्छ’ स्रोतले भन्यो ।

इजरायल र गाजाबीचको युद्ध झन चर्किरहेको छ । इजरायली सेनाले १० लाखभन्दा बढी प्यालेस्टाइनीहरुलाई गाजा छोड्न भनेको छ । सोही आधारमा धेरै प्यालेस्टाइनीहरुले गाजा छोडिरहेका छन् ।

इजरायल र गाजाको तर्फबाट आक्रमण निरन्तर जारी छ । इजरायलस्थित नेपाली दूतावासले घटनाक्रम थप सशक्त भइरहेकाले स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरेको छ ।

पछिल्लो समय गाजा आसपास सहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारले ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाएको छ । कोही नेपाली समेत उक्त क्षेत्रमा रहेको र असुरक्षा बढ्दै गएको स्थिति आएको खण्डमा आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न दूतावासले अनुरोध गरेको छ ।

स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न समेत अनुरोध गरेको छ । निश्चित रोजगारदाता नभएका नेपाली नागरिकहरूले पनि उल्लेखित अनलाइन फर्म भर्नुपर्नेछ । सुरक्षित आश्रय स्थल नभएकाहरूले दूतावासमा जानकारी गराउन अनुरोध गरिएको छ ।