Breaking News

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कांग्रेस र एमाले का सांसदहरू प्रदेश प्रमुख कार्यालय जाँदै

केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरू प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालय जाने भएका छन्।

४७ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेकाले कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।

प्रदेश प्रमुख खापुङ्गले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार साँझ पाँच बजे सकिँदै छ। एमाले, कांग्रेसका सबै सांसदहरू पाँच बजे प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन्।

‘केदार कार्कीलाई समर्थन गर्ने हामी सबै जना जादैछौं। ठ्याक्कै पाँच बजे पुग्नेछौं,’ कांग्रेस सांसद शमशेर राईले सेतोपाटीसँग भने।

मुख्यमन्त्रीमा गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा का तर्फबाट इन्द्र आङ्बोले दाबी प्रस्तुत गरेका छन्।

आङ्बोले पनि ४७ जना सांसदकै हस्ताक्षर बुझाएकाले प्रदेश प्रमुख कानुनी परामर्शमा छन्।

कोशी प्रदेशमा सरकारको दाबी गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ।