Breaking News

२०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत आउँछ

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । पार्टीको मधेश अधिवेशनलाई उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत पाउने दाबी गरेका छन् ।

ओलीले कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप लगाए । उनले मुलुकमा जतिखेर पनि एमालेको सरकार बन्न सक्ने टिप्पणी गर्दै मधेसमा विकास चाहिए एमालेलाई भोट दिनुपर्ने बताए ।

एमालेलाई भोट नदिए कुनै पनि हालतमा मधेसमा विकास नहुने दाबी गर्दै ओलीले २०७४ सालमा आफूहरुलाई निषेध गरेको नबिर्सिएको जनाए । आफ्नो पार्टी मधेसमा पहिलो पार्टी बने पनि विभिन्न हावाहुरी चलाउनेको नेतृत्व मधेसमा रहेकाले विकास हुन नसकेको भन्दै उनले अब एमालेले नेतृत्व पाउनुपर्ने तर्क गरे ।

एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसवादी दलहरुको सत्ता लोभले मधेसको विकास नभएको दाबी गरे । उनले एमाले सदैव मधेसीको हक अधिकारको पक्षमा रहेको र एमालेले नै मधेसी जनताको अधिकार दिलाएको जिकिर गरे ।

महासचिव शंकर पोखरेलले मधेस प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप
लगाए । उनले सातै प्रदेशमध्ये मधेश प्रदेश सरकार सर्वाधिक असक्षम रहेको दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको जन्मभूमि, कर्मभूमि र भविष्य पनि मधेस नै रहेकाले क्षेत्रीय दलहरुको भुलभुलैयामा मधेसी जनता नफस्ने दाबी गरे ।

पार्टी सचिव तथा कोसी प्रदेश इन्चार्ज रघुवीर महासेठले केपी ओलीकै कारण मधेसमा आज सडक, रेल सम्भव भएको बताए । उनले मधेसी जनताले एमालेलाई भोट हाले आगामी दिनमा सिँचाइको व्यवस्था पनि आफूहरूले गर्ने उनले बताए ।

अध्यक्ष केपी शर्मा ओली