Breaking News

रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटियो

२४ असोज, काठमाडौं । गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ ।

कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका हुन् ।

गृहसचिव दिनेश भट्टराई सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा २५ भदौ, २०८० मा गृह मन्त्रालयले कैद कट्टाको सिफारिस गरी फाइल मन्त्रिपरिषद्मा पठाएको दावी छ । भट्टराईले लिखित जवाफमा भनेका छन्– ‘कसुरबाट उन्मुक्ति दिएको नभई बाँकी कैद अवधि मात्रै कट्टा भएको हो । गृह मन्त्रालयले २५ भदौमा गरेको सिफारिस कानुनसम्मत नै भएको हुँदा रिट निवेदन खारेज गरिपाऊँ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत भने गृहसचिवको दावी सफेद झुट भएको बताउँछ । ‘उहाँले संविधान दिवसको दुई दिनअघि मात्रै कारागार प्रशासनमा दबाव दिएर रिगल ढकालको फाइल कैद मिनाहाका लागि झिकाउनुभएको हो । हतारहतार फाइल पठाइएको हो’ स्रोतले भन्यो, ‘उहाँले पुरानो मिति राखेर रिगलको फाइल मन्त्रिपरिषद्मा पेश गरेको देखिन्छ ।’

२९ भदौ बसेको मन्त्रिपरिषद् बैठकले कैद कट्टा सम्बन्धी निर्णय गरेको थियो । त्यसको दुई दिनपछि मात्रै रिगलको फाइल गृह प्रशासन हुँदै मन्त्रिपरिषद् अनि त्यहाँबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । स्रोतले भन्यो, ‘२९ भदौमा मन्त्रिपरिषद्को बैठकमा रिगलको फाइल पेशै भएको थिएन । पुरानो मिति राखेर पछि फाइल अनुमोदन गरियो ।’

१ भदौ २०७५ देखि मुलुकी संहिता कानुन जारी भएकाले त्यसअघि नै कैद सजाय पाएकाहरूको हकमा पुरानो कानुन आकर्षित हुन्छ । कारागार नियमावलीमा असल चालचलन भएको कैदीको मात्रै कैद मिनाहा गर्न पाउने व्यवस्था छ ।