Breaking News

कसैलाई नेपालको भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन नसकिने

३ जेठ, काठमाडौं । हालै मात्र नेपाली भूमि अतिक्रमण गरेर भारतले बनाएको बाटोप्रति सर्वत्र विरोध भएपछि त्यस बारेमा बोलेका भारतीय सेनाका प्रमुखलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले दिएको लिपुलेकबारेको भनाइ सच्याउनुपर्ने बताएका छन् ।

भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले गत शुक्रबार नेपाली भूमि लिपुलेकबारे टिप्पणी गर्दै कसैले उचालेर नेपालले विवाद गरिरहेको बताएका थिए ।

भारतीय सेना प्रमुखको उक्त भनाइ आपत्तिजनक रहेको श्रेष्ठले उल्लेख गरेका छन् । प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै श्रेष्ठले नेपाल सार्वभौम र स्वतन्त्र देशको रूपमा उभिइरहेको पनि उल्लेख गरेका छन् ।

‘उसले यसलाई सच्याउनुपर्छ,’ उनले भनेका छन् । कसैलाई नेपालको भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन नसकिने उनले बताएका छन् ।

‘हाम्रो भूमिको रक्षा गर्न हामी प्रतिवद्ध छौं । हाम्रो पुर्खाले मातृभूमिलाई बचाए । उनीहरूप्रति वफादार भएर हामी भूमिको रक्षा गर्छौ,’ प्रवक्ता श्रेष्ठले ट्वीटमा भनेका छन् ।

प्रवक्त – नारायणकाजी श्रेष्ठ