Breaking News

हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा

काठमाडौं । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि नोपल सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एकदिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।

मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले जानकारी दिइन् ।