Breaking News

इजरायलमा हमासको आक्रमणमा पछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीको सतर्कता

२२ असोज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ ।

निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आँकलसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ ।

विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात वटै प्रदेशका प्रहरी प्रमुखलाई उच्च सर्तकता अपनाउन निर्देशन दिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, राईले सम्भावित सुरक्षा चुनौतिलाई विश्लेषण गर्दै सोही अनुरुप विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

इजरायल घटनापछि विगतमा जस्तो विरोध प्रदर्शन, तोडफोड, मुस्लिम समुदायमाथि आक्रमण, घुम्न आएका इजरायलीमाथि आक्रमण जस्ता गतिविधि हुनसक्ने प्रहरीको विश्लेषण छ । त्यस्ता गतिविधिलाई निस्तेज पार्न प्रहरी नेतृत्वले निर्देशन दिएको
छ ।