नेपाली सेनाका दुई जनामा पनि कोरोना संक्रमित

३ जेठ, काठमाण्डौ । नेपाली सेनाका दुई जना जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे । उनले भने, ‘संक्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत
थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको छ ।

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।