Breaking News

ईन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ शुल्क तोक्यो

काठमाडौँ । ईन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको नयाँ शुल्क तोकेको छ। संस्थान कार्यान्वयन समितिले नयाँ शुल्क निर्धारण गरेको हो।

नयाँ शुल्क अनुसार चार बर्षे बीई तथा बी आर्कको धरौटी सहित नियमित तर्फ ५६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै पूर्ण शुल्कीय तर्फ ४ लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ कायम गरिएको हो ।

उक्त शुल्कमा विद्यार्थीहरूले अझै असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले पुरानै शुल्कमा पठनपाठन गराउनुपर्ने माग राख्दै आएका छन्। तर, संस्थानले उक्त शुल्कमा कुनै पनि हालत पढाउन नसकिने अडान कायम राख्दै आएको थियो।

यसअघि पूर्ण शुल्कीय तर्फ ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७५ हजार रुपैयाँ शुल्क बनाइएको थियो। नियमित तर्फ समेत बढाएर ८३ हजार पुर्याईएको थियो। त्यसपछि विद्यार्थीहरू आन्दोलित बनेका थिए।

नयाँ शुल्क तोकेर संस्थानले प्रवेश परीक्षाको समेत सूचना जारी गरेको छ । शुल्क विवादका कारण यसअघि भदौ २५ गतेदेखि गर्ने भनिएको प्रवेश परीक्षा रोकिएको थियो।

त्यसपछि असोज २२ गतेका लागि अर्को मिति तय गरिएको थियो । तर, त्यसमा समेत विवाद उत्पन्न भएपछि पुनः परीक्षा रोकिएको थियो। र परीक्षा अनिश्चित बनेको थियो। अहिले डीन कार्यालयले एक सूचना जारी गर्दे कार्तिक १४ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो।

यस भन्दा पहिले प्रवेश परीक्षा आवेदन फाराम भर्न छुटेकालाई असोज २२ गते देखि २४ गते सम्म अनलाइन  मार्फत फाराम भर्ने समय तोकिएको छ।