१९ असोज, काठमाडौं । केही दिन अघि बझाङ केन्द्र बिन्दु भर आएको भुकम्पबाट क्षति भएको अनुगमन र त्यहाँको जनताको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् ।
भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ । घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ । जिल्ला अस्पतालमा २ जना उपचाररत छन् । जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य छ ।
भूकम्पले घरलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । घर पूरै भत्किएकाहरु अहिले पनि सार्वजनिक स्थान र सामुदायिक घरहरुमा बसिरहेका छन् । घर बाँकी भएकाहरु भने विस्तारै घरमा फर्किएर दैनिक कामकाजमा संलग्न हुन थालेका छन् ।
भूकम्प प्रभावितहरुका लागि राहत संकलन जारी छ । प्रदेश सरकार र विभिन्न संघसंस्थाले राहत उपलब्ध गराइसकेका छन् भने केन्द्र सरकारको राहत आज सडकमार्ग हुँदै जिल्ला आइपुग्न बताइएको छ ।