जेठ ३ ! जननेता मदन भण्डारीलाई सम्झिंरहदा

आज जेठ ३ गते अपूरणीय क्षति र अविस्मरणीय राजनीतिक घटनाक्रमका हिसावले नेपाली बाम–लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक दिन हो । आजको यस ऐतिहासिक दिनलाई विभिन्न हिसावले स्मरण गर्न, अध्ययन गर्न र यसबाट प्रेरणा ग्रहण गर्न सकिन्छ ।

नेपालको ऐतिहासिक संविधानसभा, यसमार्फत प्राप्त संविधान, कार्यान्वयनमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा घोषित ‘समृद्ध नेपाल,सुुुखी नेपाली’को राष्ट्रिय संकल्प तथा नेपाली कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्यको लागि जेठ ३ गतेको सन्दर्भ, जननेता मदनकुमार भण्डारी र आजको एकीकृत नेकपालाई अलग–अलग ढंगले हेर्ने, यसको राजनीतिक–बैचारिक सफलताको पक्षलाई बेवास्ता गर्दै केवल आजका उपलब्धीहरुलाई मात्र अपनाउन खोजियो भने हामी अविवेकी सावित हुनेछौं । जसले आफ्नो सम्पूर्ण जीवन समाजवादको आधारशीला निर्माणको आन्दोलनमा खर्चिएको छ, समर्पित गरेको छ, उँप्रति घोर अन्याय हुन्छ । व्यक्तिको संगठित प्रयाससामु उसको जीवन स्वतः त्यो दिन, व्यक्ति र पार्टीसँग जोडिएर आएकै हुन्छ । यदि कहिँकतै जोडिएको छैन भने उसको जीवन पूर्णतः अपुरो र अधुरो हुन्छ । त्यसकारण जीवनलाई सार्थक र पूर्ण बनाउन यी उपरोक्त तीनवटै पक्षलाई सँगसँगै जोडेर बिचार–विमर्श गर्नु र यथोचित् मात्रामा विवेचना गर्नु वाञ्छनीय हुन्छ । यहाँ यहिँ कोशिश गरिएको छ ।

जेठ –३

नेपाली राजनीतिक रंगमञ्चमा दुईवटा विशेष प्रकृतिका घटनाक्रम जोडिएका पानाले तयार भएको डायरीको एउटा रुप हो जेठ ३
गते ।

डायरीको पहिलो पाना पल्टाउँदा त्यो कहालीलाग्दो, कोलाहल, निष्पट अँध्यारो, पीडैपीडाले नेपाली छाती निर्ममतापूर्वक थिचिएको र दुःखका अनगिन्ती छट्पटीहरुले भरिएको पक्ष एकातिर हो भने अर्को्तिर यसको दोस्रो पाना पल्टाउदा त्यो अनगिन्ती आशा, भरोसा, विश्वास, सपनाहरु विपनामा परिणत भएको र अब सधैंभरि खुशीबाहेक अरु केही भोग्नु नपर्ने सुखका परिकल्पनाहरुले भरिएको दिन हो– जेठ ३ ।

वि.सं. २०५० जेठ ३ गते पूर्व पहाडी जिल्ला ताप्लेजुङले जन्माएको एउटा भण्डारी परिवार, तत्कालीन नेकपा (एमाले), नेपाल राष्ट्र, मुक्तिकामी नेपाली जनता र विश्व कम्युनिष्ट आन्दोलन र समाजवादी केन्द्र निर्माणका लागि अत्यन्तै पीडाप्रदायी र कालो दिनको रुपमा दर्ज भएको छ । केहिँ घण्टाअघि सिङ्गो मुलुकको पहरेदार, अभिभावक, मजदुर र किसान वर्गको आशा र भरोसाको केन्द्र, नेपाली रोलमोडलको समाजवादी आन्दोलनलाई अद्यपि राजनीतिक–वैचारिक मार्गदर्शन गरिरहेको जनताको बहुदलीय जनवादका प्रणेता, नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र बामपन्थी आन्दोलनका प्रखर नेतालाई उहाँको मानवमुक्तिको भाव पस्कने हँसिलो अनुहार, चिटिक्क परेको जिउडाल, गलाभरी पोखरेली जनताले अगाध श्रद्धाका साथ आफ्नै हातले बुनेर लगाइदिएको मालाबाट सजिएर पोखरा सभागृहमा गर्जिरहेको हुन्छ भने त्यसको केही घण्टामै अन्धाधुन्ध कालो बादलले मडारिएको आकाशमुनि नेपाली जनताको गला अबरुद्ध हुन पुग्छ । राजनीतिक बैचारिक हिसावले संगठित सुदृढ कम्युनिष्ट आन्दोलनविरोधी षड्यन्त्रकारीहरुको षड्यन्त्रको कायर तानाबुनाबाट चितवन जिल्लाको तत्कालीन कविलास गाविसस्थित दासढुङ्गामा उहाँलाई सक्ने प्रयास गरेको घटनाक्रमबाटै स्पष्ट हुन्छ । सामान्य सङ्केतको रुपमा राखिएको भुस र बालुवाको थुप्रो छेउबाट जननेता सवार जिपलाई नारायणी नदीमा निर्ममतापूर्वक खसालिन्छ र सदा–सदाका लागि कहिल्यै नफर्कने गरि मारिन्छ ।

हिमालभन्दा अग्लो व्यक्तित्वको यो मृत्युले आम व्यक्ति–व्यक्ति, समग्र पार्टी पङ्क्ति र देश मात्र होइन, देशान्तर र विश्व समाजवादी आन्दोलनको सम्भावित केन्द्र निःशब्द र स्तब्ध बन्न पुग्छ । सन्नाटाबीच भण्डारी परिवारले एकजना नक्षत्र गुमायो । असल अभिभावक गुमायो । समाजले एकजना प्रगतिशील परिवर्तनका पक्षपाती स्रष्टा गुमायो । तत्कालीन नेकपा (एमाले) ले सिद्धहस्त राजनीतिक बैचारिक मान्यताको मियो गुमायो । देशले नेपाली राजनीतिक आकाशमा उदाएको एकजना राजनीतिक सिद्धान्तकार गुमायो । सार्वभौमसत्ताले देशको सुरक्षाकवच गुमायो । विश्व कम्युनिष्ट आन्दोलन समाजवादको सेन्टर गुमायो । रक्षात्मक अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनले नवीन बिचारक र २० औँ शताब्दीका युगपुरुष गुमायो ।

वि.सं.२०७५ जेठ ३ गतेको त्यो दिन, नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र बामपन्थी आन्दोलन, नेपाल राष्ट्र, नेपाली जनता र विश्वभरका साम्यवादी आन्दोलनका लागि आशा, भरोसा, विश्वाससहित सुखी र खुशी भावले दर्ज भएको छ । नेपालका कम्युनिष्ट शक्तिहरु विश्व कम्युनिष्ट आन्दोलनमा विकास भएका विभिन्न बिचार र सिद्धान्तबाट दीक्षित हुँदै कतिपय शक्तिहरु शान्तिपूर्ण संघर्षको बाटोबाट त कतिपय शक्तिहरु सशस्त्र संघर्षको बाटोबाट क्रान्तिमा होमिएमा थिए । यसबीचमा केही दक्षिणपन्थी भड्कावबाट ग्रसित थिए भने केही उग्रवामपन्थी भड्कावबाट ग्रसित थिए ।

सचेत मस्तिष्कले भन्नथाल्यो– एउटा मान्छे मर्दा उसकी पत्नी विधवा हुन्छे, एउटा देशभक्त मर्दा सिङ्गै देश विधवा हुन्छ ! सम्झँदा अहिले पनि जीउ गल्ने, उभिएको धर्ति पराकम्पन हुने, खुट्टाले ठाउँ छाडेजस्तो हुने, आङ जिरिङ–सिरिङ हुने, शरीरभरि काँडा उम्रने, आक्रोशले मन उद्धेलित हुने, आवेगले हृदय उम्लने, उहाँको अभावमा अनियन्त्रित र असन्तुलित हुने जेठको ३ को दुःखद् सन्दर्भलाई जननेता मदनकुमार भण्डारीको ओजपूर्ण स्वर र गर्जनलाई मानिसले यसरी सजाउँदै लग्यो । यहिँ स्वर र गर्जनको पर्दा्भित्र जेठ ३ गते फरक ढंगले विकास भएको छ । वि.सं.२०७५ जेठ ३ गतेको त्यो दिन, नेपालको लोकतान्त्रिक, गणतान्त्रिक र बामपन्थी आन्दोलन, नेपाल राष्ट्र, नेपाली जनता र विश्वभरका साम्यवादी आन्दोलनका लागि आशा, भरोसा, विश्वाससहित सुखी र खुशी भावले दर्ज भएको छ । नेपालका कम्युनिष्ट शक्तिहरु विश्व कम्युनिष्ट आन्दोलनमा विकास भएका विभिन्न बिचार र सिद्धान्तबाट दीक्षित हुँदै कतिपय शक्तिहरु शान्तिपूर्ण संघर्षको बाटोबाट त कतिपय शक्तिहरु सशस्त्र संघर्षको बाटोबाट क्रान्तिमा होमिएमा थिए । यसबीचमा केही दक्षिणपन्थी भड्कावबाट ग्रसित थिए भने केही उग्रवामपन्थी भड्कावबाट ग्रसित थिए ।

क्रान्ति सम्पन्न गर्ने बिचार र बाटो फरक भएका कारण टुटफुट र बिभाजनको दुःखदायी श्रृङ्खलाहरु भोग्दै क. पुष्पलाल, क. मदन भण्डारीलगायत अग्रजहरुले सुरु गरेको एकिकरणको प्रक्रिया पनि पुनः बीचमा टुट्न गई नेपाली कम्युनिष्ट आन्दोलनमा अन्यौलता विद्यमान थियो । उक्त अन्यौलतालाई अन्त्य गर्दै न्यायप्रेमी नेपाली जनताको वर्षौं पुरानो आकांक्षालाई मुर्त रुप दिन, मुलुकको राजनीतिक शक्ति सन्तुलनमा गुणात्मक ढङ्गले सकारात्मक योगदान दिन, राष्ट्रियता, लोकतन्त्र,

राजनीतिक स्थायित्व र समृद्धिका लागि ठोस योगदान दिन र नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । यो नेपालको समग्र इतिहासकै लागि दूरगामी, अविस्मरणीय र विश्वकै परिवर्तनकामी न्यायप्रेमी जनता र वामपन्थी आन्दोलनका लागि प्रेरणाप्रदायी दिन विशेष घटनाको रुपमा रहेको छ ।

मदन भण्डारी

बि.संं. २००९ साल असार १४ गते पिता देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारी भण्डारीको कोखबाट माइलो सन्तानको रुपमा पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित ढुङ्गेसाँघु गाउँमा जन्मनुभएका मदन भण्डारी, विद्यार्थीकालदेखि नै हुने विरुवाको चिल्लो पात भनेझैँ कुसाग्र बुद्धिमताका साथ हुर्कनुभयो । बाल्यकालमै संसारमा विरलै अनुभूत गर्न सकिने साहस, बुद्धि र क्षमताको सम्मिश्रण उहाँको अध्ययन र दैनिक घरकाममा देखापर्न थाल्यो । फलस्वरूप, उहाँले बाल्यकालमै दुर्गा सप्तसतिचण्डी पाठ कण्ठाग्र गरेर पुरस्कृत विद्यार्थी बन्नुभयो । संस्कृत अध्ययन, बाचन र व्यवहारिक जीवनका असजिला क्षणमा समेत उहाँको कुसाग्रताले जिल्लाभरि चर्चा पायो । अध्ययनका लागि भारत प्रवासको बसाईं, यसक्रममा उहाँमा देखिएको अभूतपूर्व प्रगतिशील चेतना, काव्य क्षमता, धाराप्रवाह बिचारको सम्प्रेषण क्षमता, प्रगतिशील सांस्कृतिककर्मीको रुपमा उहाँको उपस्थिति, राजनीतिक दलसँगको आवद्धता, विश्वबजारका घटनाक्रम र समकालीन बिचारमाथिको प्रखरता, सिर्जनशील बौद्धिकता र उच्च स्मरणशक्तिको परिचय कमाइसक्नुभएका उहाँलाई विषयगत ज्ञान र यसको विविधताभित्र धेरै ढंगले अध्ययन गर्न, बुझ्न र ग्रहण गर्न सकिन्छ ।

१. माक्र्सवादका सिर्जनात्मक, मौलिक र नवीन विचारक

सन् १९९० को दशकसम्म आइपुग्दा सोभियत संघ र पुर्वी युरोपका विभिन्न देशहरुबाट समाजवादी सत्ता विघटन र चीनियाँ कम्युनिष्ट आन्दोलनको सांस्कृतिक क्रान्तिमा भएका भुलका कारण विश्वभरका सामन्तवादी, साम्राज्यवादी, विस्तारवादी र पूंजीवादी विचारका पण्डितहरु माक्र्सवादको अध्याय समाप्त भएको भ्रम फैलाउँदै खुसीयाली मनाइरहेका थिए । समाजवादी आन्दोलनका चिन्तकहरु भने एकआपसमा आरोप–प्रत्यारोप लगाई दुःख मनाउ गरिरहेका थिए । विश्व समाजवादी आन्दोलनलाई अब नयाँ शिराबाट कसरी अगाडि बढाउने ? भन्ने चिन्तन गर्न र पहलकदमी लिन कम चुनौतीपूर्ण थिएन । उहाँले ती चुनौतीहरुलाई अवसरमा परिणत गर्न विषयवस्तुको सुक्ष्म अध्यायनको पाटो अपनाई विश्व कम्युनिष्ट आन्दोलनका कमीकमजोरीहरुलाई तल उल्लेखित उद्गगार प्रयोग गरि उजागर गर्नुभयो ।‘क्रान्ति न त सिद्धान्तको रक्सी पिएर गल्ली–गल्लीमा मात्तिदैमा सफल हुन्छ न त कसैको अन्धानुकरणबाट !’ ‘सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्छ ।’‘बिदेशी जुत्ताको नापअनुसार खुट्टा काट्ने गलत विचारलाई देशभक्तको असिम मायाले ओतप्रोत ह्रदयबाट कुचो लगाउनु पर्छ ।’

यसरी फरक ढंगले नेपाली कम्युनिष्ट आन्दोलनलाई पढ्ने, यसबारे गृहकार्य गर्ने र रणनीतिक महत्वका साथ योजना अघि सार्नेक्रममा विश्व कम्युनिष्ट आन्दोलनको प्रयोगमा नआएको शान्तिपूर्ण प्रतिस्पर्धा र पहलकदमीको प्रणाली अपनाई श्रेष्ठता हासिल गरि नेतृत्व प्रदान गर्ने सिर्जनात्मक, मौलिक र नवीन विचार जनताको बहुदलीय जनवाद लाई प्रस्तुत गर्नुभयो । जबजले कम्युनिष्टहरू भनेका एकदलीय, एकदलीयतावादी, एकाधिकारवादी र निरंकुश हुन्छन् भन्ने भ्रमलाई निस्तेज बनायो भने बहुजाती, बहुधर्म, बहुभाषा, बहुसंस्कृति, प्राकृतिक विविधता र भौगोलिक विविधताले युक्त नेपाली समाजलाई बहुलवादी खुल्ला समाजको विषेशता बोकेको ब्याख्या गर्दै बहुलतालाई नेपाल मौलिकको रुपमा व्याख्या गर्यो । यससँगसँगै विभिन्न विचारमा आस्था राख्ने दलहरुलाई फल्न र फुल्न दिनुपर्ने र शासनसत्ता सञ्चालनका लागि भने उनीहरु बीच निश्चित अवधिमा जनताबाट अनुमोदित हुनुपर्ने व्याख्या गर्दै प्रतिस्पर्धा र पहलकदमीपूर्ण प्रणालीको विशेषताको नवीन विचार प्रस्तुत गर्यो । यसरी जबज माक्र्सवादको विकासक्रमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय सहितको समानता, विभेदको अन्त्य, दिगो शान्ति र समृद्धि विषेशता भएको सिर्जनाको रुपमा विकास भयो ।

२. उच्च राजनीतिक आत्मविश्वास, स्वाभिमानी ,क्रान्तिकारी र निडरताका प्रतीक

मुलुक बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्राारम्भिक चरणमा प्रवेश गरिरहेको थियो । २०४६ को जनआन्दोलनमा मुख्य नेतृत्व गरी संविधान निर्माण र निर्वाचन सम्पन्न गराउन शक्तिशाली अन्तरिम सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो भने पार्टीका शक्तिशाली सभापति कृष्णप्रसाद भट्टराई लोकप्रिय प्रधानमन्त्री रुपमा विराजमान थिए । तत्कालीन राजा विरेन्द्र भने दलहरु र आफूबीच भएका सम्झौतामा दलहरु इमान्दार हुन्छन् कि हुँदैनन् ? को निगरानी गर्दै थिए । तत्कालीन एमाले भने शक्ति सन्तुलनको तेस्रो पोजीसन (राजा, कांंग्रेस, एमाले) मा थियोे । संविधान कार्यान्वयन अन्तर्गत पहिलो संसदीय निर्वाचन घोषणा भई दलहरु चुनावी कार्यक्रममा थिए । उक्त परिस्थितिमा तत्कालीन एमाले चुनावमा खह्रो उत्रन सक्ला र ! भनी मान्छेहरु गाँईगुई गर्दै लख काटिरहेका थिए । अकस्मात वि।संं। २०४७ चैत्र ५ गते काठमाडौं क्षेत्र नं.१ को निर्वाचन प्रचार–प्रसार समितिको कार्यालय चावहिलमा उद्घाटन गर्दै दुनियाँलाई चकित पार्ने गरी निम्न उद्गारहरु प्रस्तुत गर्दै उहाँले आफूभित्रको उच्च राजनीतिक आत्मविश्वास, स्वाभिमान, क्रान्तिकारिता र निडरतासाथ प्रस्तुत गर्नुभयो ।
…….मान–सम्मानलाई उपभोग गर्दै किनारामा वसिबक्स्योस् महाराज ! हात नलम्काइबक्स्योस् ! आँखा नचम्काइबक्स्योस् ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्स्योस् ! यदि, सन्डमुसन्डहरुलाई चलाउने नै हो भने, यदि सन्डमुसन्डहरुलाई नै अगाडि लिएर आउने हो भने पनि महाराजले पनि श्रीपेच उतारी सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ! यसरी सिंहगर्जन गनुभयो ।…….यो मदन भण्डारी कृष्णप्रसाद भट्टराईंसँग मात्र होइन, आफुलाई निकै लोकप्रिय र विष्णुको अवतार ठान्ने राजा विरेन्द्र पनि श्रीपेच खोलेर आउँछन् भने मदन भण्डारी राजासँग प्रतिस्पर्धा गर्न तयार छ…….चुनावी लहर क्रमशः अघि बढ्न थाल्यो ।

३.२०औं शताब्दीका युग नायक

सोभियत समाजवादीसत्ता र पूर्वी युरोपका समाजवादीसत्ताको विघटन तथा चीनियाँ सांस्कृतिक क्रान्ति भुलहरुका कारण पूंजीवादी दुनियाँका धुरन्धर पण्डितहरुले अभूतपूर्व खुशीयाली मनाइरहेका बेला चरम पूंजीवादी देश अमेरिकाबाट प्रकाशित न्युजविक पत्रिकाले सन् १९९१ को मे २७ को अंकमा कमरेड मदनलाई कोर्डिङ गरेर छाप्यो– ‘नेपाल जहाँ कार्ल माक्र्स जीवित छन् ।’ जसबाट पनि नवीन विचारक कमरेड मदन बिशौ शताब्दीको युग नायक प्रमाणित हुनुभयो ।
४. दुरद्रष्टा वा स्वप्नद्रष्टाका प्रतीक
वि.संं. २०४७ मा नेपाल अधिराज्यको संविधान जारी गर्दा केही राजनीतिक पार्टीहरु अब कहिल्यै राजनीतिक आन्दोलन गर्नुपर्दैन, सबथोक यहिँ संविधान हो भनेर दीपावली मनाइरहेका थिए भने केही राजनीतिक पार्टीहरु संसदीय व्यवस्थालाई स्विकार गरिएको संविधानबाट प्राप्त संसद भनेको ‘खसीको टाउँको राखेर कुकुरको मासु बेच्ने थलो हो’ र चुनाव लड्दै संसदमा गएर क्रान्ति हुन सक्दैन भन्दै संविधान जलाइरहेका थिए । ती दुई अतिवादी सोचलाई वास्ता नगरी कमरेड मदनले जारी संविधान माथि २७ बुँदामा असहमति राखी संविधानलाई आलोचनात्मक समर्थन गर्नुभयो । ती २७ बुँदाका असहमति १६ वर्षपछि पनि पुनस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते पारित गर्यो । यस दृष्टान्तबाट नै निष्कर्ष निकाल्न सकिन्छ– उहाँ कति दुरदर्शी र स्वप्नदर्शी नेता हुनुहुँदो रहेछ ।

५. उदारवादी र जनप्रेमी राजनेताको रुपमा जनअनुमोदित

विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नेतृत्व प्रदान गरिरहेका नेता कमरेड मदन कम्युनिष्ट विरोधीहरुको आँखाको तारोमा हुनुहुन्थ्यो । उनीहरु उहाँको उचाइ र कम्युनिष्ट पार्टीलाई कसरी बद्नाम बनाउन सकिन्छ भनी गौडा ढुकेर बसिरहेका थिए । त्यसलाई सार्थकता दिन तत्कालीन नेकपा (एमाले)२०४८ सालको संसदीय चुनावको प्रचार–प्रसारमा सक्रिय भइरहेको बेला कमरेड मदनलाई पत्रकारले प्रश्न सोधे– महासचिवज्यू, कम्युनिष्टहरुले धर्म, जातपात र भगवान मान्दैनन् भन्छन् नि ! यससम्बन्धमा तपाईंको पार्टीको धारणा के हो ? प्रश्न भुँईमा खस्न नपाउँदै बडो स्पष्टताका साथ कमरेड मदन भन्नुहुन्छ–‘ हाम्रा भगवान भनेका नबोल्ने ढुङ्गाका देवता होइनन्, जीवित जनता हुन् र उनीहरूको सेवा नै हाम्रो धर्म हो ।’ उनको यो उत्तरले कमरेड मदनको उचाई र कम्युनिष्ट आन्दोलनलाई बद्नाम बनाउन खोज्ने षड्यन्त्र पूर्णतः असफल भयो । त्यतिमात्र होइन, कमरेड मदन गाउँ–गाउँसम्म पुग्ने, गहिराइमा पुगेर जनताको समस्याको पहिचान गर्ने जनतालाई चित्तबुझ्दो तरिकाले समाधान दिने गर्नुहुन्थ्यो । र, पार्टीका नेता–कार्यकर्तालाई जनतासँगको सम्बन्धलाई कसरी घनिष्ठ बनाउने ? आवश्यक निर्देशन दिनुहुन्थ्यो । यसकारण उहाँ जनप्रिय राजनेताको रुपमा जनअनुमोदित हुनुभयो ।

६. युवाका प्रेरक व्यक्तित्व

२६ वर्षको उमेरमा तत्कालीन नेकपा (माले) को केन्द्रीय सदस्य, ३२ वर्षको उमेरमा पोलिटब्युरो सदस्य र ३७ वर्षको उमेरमा तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशनबाट महासचिवमा निर्वा्चित भई सोहि महाधिवेशनबाट आफूले निर्माण गर्नुभएको जनताको बहुदलीय जनवादलाई पार्टीको कार्यक्रम बनाउन उहाँ सफल हुनुभयो । युवाहरुलाई सम्बोधन गर्दा उहाँ भन्नुहुन्थ्यो–‘ युगले व्यक्तित्व निर्माण गर्ने होइन, व्यक्तित्वले युगको निर्माण गर्नुपर्छ ।’ जसका लागि तपाईंहरुले मातृभूमिको सच्चा पहरेदार बनेर देशको प्राकृतिक स्रोतसाधन र भौगोलिक जगमा उभिएर देश र जनताको सेवामा समर्पित हुनुपर्छ, आज उहाँकै प्रेरणाले हामी युवाहरु देश र जनताको सेवामा लामबद्व छौं ।

७. विपक्षीहरुको नजरमा पनि सिद्धान्तनिष्ठ नेता

वि.संं. २०५० जेठ ३ गते उहाँको हत्यापश्चात समवेदना सन्देशमा तत्कालीन राजा विरेन्द्रले सिद्धान्तनिष्ठ व्यक्तिको रुपमा सम्मान गरे भने नेपाली कांग्रेसका लौहपुरुष गणेशमान सिंहले रुँदै प्रजातन्त्र पुनःस्थापनामा सम्पूर्ण शक्ति खन्याउने आफ्नो एउटा असल मित्रको हत्या भएको र सिद्धान्तकारलाई गुमाउनुपरेको उल्लेख गरेका थिए । उहाँमा प्रष्ट विचार राख्ने र मीठो बोल्ने शैली तथा विपक्षका विचारलाई सुन्ने र सम्मान गर्ने स्वभाव थियोे ।

निष्कर्ष :

विश्व कम्युनिष्ट आन्दोलनका सकारात्मक र नकारात्मक पक्षको अध्यायन गरि माक्र्सवादको सिर्जनात्मक प्रयोगको रुपमा, नेपाली मौलिकताको नवीन विचार एवंम् बिशौँ शताब्दीको युगलाई नेतृत्व गरेको विचार जनताको बहुदलीय जनवादका प्रणेता मदनकुमार भण्डारीलाई षड्यन्त्रपूर्वक ढंगले जिप दुर्घटना गराई हत्या गरिएको यो पीडा र दुःखले भरिएको दिन र समाजवादउन्मुख राष्ट्रिय पूंजीको विकास गरि सामाजिक न्याय र समानता सहितको समृद्धि हासिल गरि नेपाललाई २१ औँ शताब्दीको पहिलो समाजवादी मुलुक बनाउन उच्च नेतृत्वदायी भुमिका खेलौ । जबजले ब्याख्या गरेको जनवादी ब्यवस्थाको सुदृढीकरणको चरण अझै बाँकी छ, आखिर सत्य सत्य नै
हुनेछ । व्यवहारमा अथवा अभिव्यक्तिमा गरिएको भुललाई सुधार्नु अझै पनि बुद्धिमता हुनेछ । जनताको जनवादलाई जनताको बहुदलीय जनवादको असली नामाकरण दिन ढिलाइ नगरौं ! २७ औँ मदन भण्डारी स्मृति दिवसको यस दुःखद् घडीमा जननेता मदनकुमार भण्डारीप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।