१६ असोज, पोखरा । एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशन पोखरामा चलिरहेको छ । एमाले अध्यक्ष ओलीले उद्घाटन गरेको प्रथम अधिवेशनको बन्दसत्र सकिए पनि नयाँ नेतृत्व चयनका लागि छलफल चलिरहेको छ ।
गण्डकी एमालेमा ओली समूहको रजगज बढी छ । त्यसैले पनि गण्डकी प्रदेशमा एमाले नेताहरुले सहमति र एकताको सन्देश दिन आहृवानसमेत गरे । तर, गण्डकीको अधिवेशनले न एकताको सन्देश दिने देखिएको छ न कुनै नेताले टीका लगाइदिएकै भरमा अध्यक्ष हुने परिस्थिति प्रतिनिधिले मान्नुपर्ने देखिएको छ ।
नेताहरुले सहमतिको मन्त्र जपेर आफ्नो गुट र समूहलाई रोज्दा गण्डकीमा चुनाव हुने निश्चितजस्तै छ ।
कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण र पद्मा अर्याललगायतले गण्डकीमा सहमतिको सन्देश दिनुपर्ने आहृवान गरे पनि उनीहरु नै आफूले चाहेको अध्यक्ष बनाउन लागिपरेका छन् ।
एमालेमा अहिले ओलीभन्दा फरक विचार राख्ने समूह र नेता छैन । तर, ओली समूहभित्रैको दुई वटा गुट छन् र ती गुटका नेताहरुबीच नियुक्तिदेखि निर्वाचनसम्म कित्ताकाट छ ।
गण्डकीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ एकातिर र एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीबीच स्पष्ट गुटगत प्रतिस्पर्धा देखिएको छ । यस्तो अवस्था एमालेको गण्डकी प्रदेश अधिवेशनमा पनि देखिएको छ र यसपटक पृथ्वीसुब्बा र खगराजमात्रै होइन, एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्यालले तेस्रो धारको अभ्यास पनि गरेका छन् ।
चुनाव तथा दलीय भागबण्डा र कार्यकर्ताबीच पृथ्वीसुब्बा र खगराजमध्ये एउटा कित्ता रोज्नुपर्ने परिस्थिति बन्दा पूर्व मालेका सहयोद्धा किरण र पद्मालाई अप्ठेरो परेको छ । पृथ्वीसुब्बासँग पनि उभिन नसक्ने तर अर्को रोज्दा कार्यकर्ता र बाहिरबाट पनि खगराज गुट भनिदिँदा खगराजभन्दा सिनियर नेता किरण र पद्माले खुलेरै असन्तुष्टि जनाउने गरेका छन् ।
एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनमा सबैजसो नेताले सहमतिको नारा जपेर, अन्त्यमा गुटबीचकै प्रतिष्ठाको लडाइँ बन्ने निश्चित देखिएको छ । उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा र खगराज तथा तेस्रो धार किरण-पद्माकोसमेत साथमा दुई प्यानलमै निर्वाचन हुने पक्काजस्तै देखिएको छ ।
अहिले यी सबै खगराज समूहको कित्तामा उभिएर अध्यक्षमा मायानाथलाई अगाडि सार्न सहमति नजिक छन् ।
पृथ्वीसुब्बा गुरुङ अहिले भइरहेकै तदर्थ कमिटीका पदाधिकारीलाई अगाडि सार्न प्रयासरत छन् । पृथ्वीसुब्बाकै जोडबलमा अध्यक्ष नवराज शर्मा अध्यक्षको प्रत्यासी छन् भने सचिवमा अहिलेकै सचिव धनञ्जय दवाडीलाई अगाडि सारिएको छ ।
खगराज समूहबाट मायानाथ अध्यक्ष र पृथ्वीसुब्बा समूहबाट खगराजको कित्तामा उभिँदै अहिलेका उपसचिव रश्मी आचार्य सचिवमा उम्मेदवार हुने निश्चितजस्तै रहेको नेताहरुले बताएका छन् । बागलुङका हिरा केसी पनि अध्यक्षको दाबेदार भए पनि उनलाई आशिर्वाद दिने नेताहरु अहिलेसम्म नदेखिएको स्रोतले बतायो ।