दाङ तुलसीपुरका कोरोना संक्रमित व्यक्ति टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ

३ जेठ काठमाडौं । हिजो शुक्रबार मात्र कोरोना भाइरस संक्रमित पृष्टि भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ खर्चवा गाउँका ३४ वर्षीय कोरोना संक्रमित व्यक्ति काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी भएको खुलेको छ ।

लामो समयदेखि काठमाडौं बस्दै आएका उनले परीक्षण गराउँदा आफ्नो ठेगाना दाङ तुलसीपुर राखेको अधिकारीहरुले बताएका छन् ।

तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले ती व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्ने खुल्न आएको भएपनि स्वास्थ्यकर्मी हुन कि कर्मचारी ? भन्ने अझैं एकिन भइ नसकेको जानकारी दिए ।

’उहाँ काठमाडौंमै क्वारेन्टिनमा रहेको भन्नेसम्म जानकारी दिइएको छ,’ केसीले भने ‘उहाँ यो बीचमा दाङमा आएको रेकर्ड छैन ।

ती व्यक्तिका बारेमा थप कुरा पत्ता लगाउने प्रयास भइरहेको केसीले बताएका छन् ।

हिजो दाङका अन्य दुई युवामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरू जिल्लाकै पहिलो संक्रमित हुन् ।
संक्रमण पुष्टि भएका गढवाका दुई युवा पाँच दिनअघि भारतबाट आएका थिए । उनीहरू गोरखपुर र मुम्बईबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै दाङ आएका हुन् ।