भातरको उत्तर प्रदेशमा भएको दुर्घटनामा २४ जना मजदुरुको मुत्यु

एजेन्सी

३ जेठ काठमाडौं । उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार भएको दुर्घटनामा २४ मजदुरको मृत्यु भएको छ । बिहान करिब ३ बजेर ३० मिनेट जाँदा घर फर्किरहेका मजदुर सवार ट्रक राजमार्गमा रोकिराखेको अर्को ट्रकसँग ठोक्किन पुगेको थियो ।

कानपुर प्रहरीले दुर्घटनामा ३५ जना घाइते भएको बताएको छ । यसमध्ये २० जनाको जिल्ला अस्पताल र गम्भीर रुपमा घाइते १५ जनालाई सैफई मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार दुवै ट्रकमा मजदुर सवार थिए । दिल्लीबाट आएको ट्रक चिया पिउनका लागि एक ढाबा अगाडि रोकेर राखिएको थियो । सो ट्रकसँग राजस्थानबाट आएको ट्रक ठोक्किन पुगेको थियो ।

राजस्थानबाट आएको ट्रकको ड्राइभर निदाएको कारण दुर्घटना भएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार राजस्थानबाट आएको ट्रकमा चुनाको बोरा पनि थियो । दुर्घटनापछि ट्रक पल्टियो र मजदुरहरु चुनाको बोरामा दबिए । सो ट्रक राजस्थानबाट पश्चिम बंगाल जाँदै थियो ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ज्यान गुमाएका मजदुरको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यसअघि, ८ दिनमा भएका ४ दुर्घटनामा ३२ मजदुरको मृत्यु भएको थियो । बुधबार मात्र मध्य प्रदेशको गुनामा बस र कन्टेनर ट्रक ठोक्किँदा ८ जनाको मृत्यु भएको थियो भने ५४ जना घाइते भएका थिए । सो राति उत्तर प्रदेशको मुजफ्फरनगरमा बसले सडकमा हिँडिरहेका ६ जना मजदुरलाई किचेको थियो । उता, बिहारमा बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु भयो ।

योभन्दा पहिले महाराष्ट्रको औरंगवादमा रेलवे ट्रयाकमा १६ जना प्रवासी मजदुरको रेलले किच्दा मृत्यु भएको थियो ।