Breaking News

एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र करिब १० घन्टा ढिला गरी सुरू

भाद्र १० गते बुधबारदेखि सुरू भएको नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र करिब १० घन्टा ढिला गरी सुरू भएको छ।

आज बिहान ८ बजे तोकिएको बन्दसत्र बेलुका ५ बजेपछि मात्र सुरू भएको हो। आन्तरिक तयारी नपुगेका कारण बन्दसत्र ढिला गरी सुरू भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ।

सहमतिबाट नेतृत्व छनोट गर्ने नेताहरू बीचको छलफल लम्बिएपछि बन्दसत्र सुरू हुन सकेको थिएन। छलफलका बावजुद पनि नेतृत्वका विषयमा सहमति हुन सकेको छैन।

यद्यपी निर्वाचन हुने वा सहमतिमै नेतृत्व चयन हुने भन्ने विषयमा पनि यकिन भइसकेको छैन।

‘आजको बन्दसत्रले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गर्ने लगायतका काम गर्छ, कमिटीको विषयमा अहिलेसम्म कुनै टुंगो लागेको छैन,’ एक नेताले भने, ‘निर्वाचन भएपनि, सहमति भएपनि भोलि(पर्सिसम्म टुंगो लाग्ला।’

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न सुझाएर काठमाडौं फर्किएका थिए।

महासचिव शंकरले पनि सहमतिमै नेतृत्व टुंग्याउन निर्देशन दिएर काठमाण्डौ फर्किएका हुन्। एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कालीकोटका मिनबहादुर शाहीलाई समर्थन गरेका छन्।

हालका प्रदेश कमिटी सदस्य तथा मान अधिकार एलायन्सका अध्यक्ष भइसकेका शाहीलाई उद्घाटन सत्रपछि ओलीले अध्यक्षमा समर्थन गरेका थिए। शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्। प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन्। यसअघि प्रदेश सभा सदस्य रहेका शाह पार्टीको केन्द्रीय सदस्य हुन्। कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ।

११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

प्रदेश अधिवेशनबाट ११ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरेको छ।

बिहीबार ढिला गरी सुरू भएको बन्द सत्रबाट पार्टी सचिव लेखराज भट्टको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरिएको हो।

अध्यक्ष मण्डलको सदस्यमा स्थायी कमिटी सदस्यहरू यामलाल कँडेल, गोरखबहादुर बोगटी, पोलिटब्यूरो सदस्य मोहन बानियाँ, भैरबसुनेदर श्रेष्ठ, लक्ष्मी पोखरेल, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य, धर्मराज रेग्मी, नगिन्द्र शाही ९नेशनल०, चन्द्रबहादुर विक, मोहनमाया ढकाल छन्।