Breaking News

एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन : गुटगत प्यानल नै बनाएर निर्वाचनमा जाने संकेत

११ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको हिजो उद्घाटन भएको अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु भएको छ ।
बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय भए पनि कार्ड छपाइमा ढिलो हुँदा पछि ११ बजेका लागि सारिएको थियो ।

बन्द सत्रमा महासचिव शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गरेका छन् । अधिवेशनको बन्द सत्रमा अध्यक्ष विनोदकुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गरेका छन् । अहिले सोेही प्रतिवेदनहरूमा छलफल चलिरहेको छ ।

प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले हिजो उदघाटन सत्रमा निर्देशन दिएपनि त्यसो हुन नसकेर गुटगत वा छुट्टै उम्मेदवारी पर्ने बुझिएको छ ।

अध्यक्ष ओलीले प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिए पनि गुटगत प्यानल नै बनाएर नेताहरु निर्वाचनमा होमिन लागेको एमालेका नेताहरु नै बताउँछन् ।

स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहबाट गुलावजंग शाह र गोरख बोगटी समूहबाट मीनबहादुर शाही अध्यक्ष लड्ने चर्चा छन् । यस्तै पूर्वसभामुख राजबहादुर शाही र कालिकोटका युवा नेता प्रकाश रोकाया पनि अध्यक्षमा उठ्ने तयारी रहेको बुझिएको छ ।