Breaking News

एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित : उम्मेदवार भोट माग्दै

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित बनेको छ । एमालेले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसके पछि मतदान कार्यक्रम अनिश्चित बनेको हो ।

यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने जनाइएको छ ।

हिजो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान विद्युतीय मेसिनमार्फत हुनेछ ।