राजधानीको प्रमुख नाका चन्द्रागिरी नगरपालिका खतराको संकेतमा, ४८५ जनाको परीक्षणमा ५ जनामा कोरोना संक्रमित

२ जेठ काठमाडौं । काठमाडौँ उपत्यकाको मुख्य नाका प्रवेशद्वार रहेको चन्द्रागिरि नगरपालिकामा कोरोना भाइरस संक्रमित देखिन थालेका छन् । आज नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा ५ जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ ।

परीक्षण गरिएका ४८५ मध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये वडा नं ९ मच्छेगाउँका एक, वडा नं १ दहचोकका एक, वडा नं १२ बलम्बुका एक र दुई सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति रहेका छन् । सशस्त्रका दुईमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले नगरपालिकाभित्र तीन दिनका लागि लकडाउनलाई कडाइ गर्न लागेको जानकारी दिए । ‘भोलिदेखि तीन दिनसम्म नगरपालिकाभित्रका औषधी पसलबाहेक अन्य पसल र नगरपालिकाभित्र हुँदै आएका विकास निर्माणका कार्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौँ’, उनले भने ।

बिरामी मानिस हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम राखी, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको प्रवक्ता महर्जनले बताए। नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचको सङ्ख्यालाई समेत वृद्धि गरिएको जानकारी दिए ।
रासस