Breaking News

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै

८ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् ।

उनले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । यद्यपि लिलाबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी लगायत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बतायो ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिए ।

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मत लिने मिति सकिन करिब दुई साता बाँकी हुँदा उनले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।