Breaking News

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच राजधानी बेइजिङमा भेटवार्ता हुने भएको हो ।

उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी
लिनेछन् ।

त्यसपछि उनले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहनेछ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिनेछ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनी आफ्नो ८ दिने भ्रमण सकेर यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।