काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते फैसला सुनाउने भएको छ ।
आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै सात वर्ष पुरानो मुद्दामा फैसला सुनाउने मिति तोकेको हो । द्वन्द्वकालीन मुद्दाबारे प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
आइतबार दुवैतर्फको बहस सकिएपपछि सर्वोच्चले २८ मंसिरमा फैसला सुनाउने भएको हो । आरोप ठहर भएमा अदालतले कैद, जरिवाना वा दुवै सजाय गर्न सक्नेछ । अदालतको अवहेलना मुद्दामा माफी माग्ने अवसर पनि दिन सक्ने कानुनी व्यवस्था
छ ।
२०७३ वैशाखमा राष्ट्रिय सभागृहमा माओवादी भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको र माओवादीविरुद्ध अदालतलाई प्रयोग गरिएको भनेर आक्रोश पोखेका थिए ।