काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक कुमार राईले शिक्षक महासंघका प्रतिनिधिसँग आज बिहान बार्ता गरेका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले गठन गरेको वार्ता टोलीसहितले गृहमन्त्रालयमा छलफल गरेको हो ।
सरकारी टोली र शिक्षकका प्रतिनिधिहरुबीच आज बिहान भएको छलफल सकारात्मक भएको दावी सहभागीहरुले गरेका
छन् । उनीहरुबीच शिक्षकहरुको आन्दोलनलाई मर्यादित बनाउने र छिट्टै औपचारिक वार्तामा बस्ने सहमति भएको बताइएको छ ।
यसअघि शिक्षा मन्त्रालयद्धारा गठित वार्ता समितिले वार्ताका लागि बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । तर, बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने वार्तामा बसेका हुन् ।
छलफलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर सोचेर निष्कर्षमा पुग्नुपर्छ र समस्याको समाधान निकाल्नुपर्ने बताएको गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए । मन्त्री श्रेष्ठले आन्दोलनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आग्रहसमेत गरेका थिए ।
छलफलमा सहभागी शिक्षा मन्त्री राईले परिणाममुखी वार्ताका लागि समन्वय गर्ने बताए । शिक्षकहरुका जायज माग सम्बोधनका लागि अर्थ र कानुन मन्त्रालयका प्रतिनिधिहरुसँग पनि छलफल गर्ने उनले बताएका थिए ।
छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी छन् ।