Breaking News

पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान आजदेखि सुरु

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियान आज बुधबारदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियान शुभारम्भ गरेका हुन् ।

आजबाट परोपकार प्रसूति गृहसँगै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप सातै प्रदेशका संघीय अस्पतालहरूमा लगाइनेछ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङका रूपमा संघीय अस्पतालहरूबाट सुरु गरेको हो । सुरुमा एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीलाई मात्र लगाइनेछ ।

खोप कुन-कुन अस्पतालमा लगाइन्छ :

एचपीभी खोप बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा २० हजार भाइल पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप दामासाही (बराबर) तरिकाले वितरण गरिएको छ ।

यो एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ ।