(सीआईबी) ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय

काठमाडौँ । केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँलाई बुझाउन लागेको प्रतिवेदनमा ५० जनालाई प्रतिवादी बनाउन राय दिइएको छ ।

जसमा ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको छ ।

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

यो प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।