जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु

१९ भदौ, धनगढी । कैलालीको धनगढीमा जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा धनगढी–३ बस्ने ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् । विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ ।