१७ भदौ, पोखरा । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आजदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ ।
२००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०र५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
स्मार्ट बत्ती जडान गर्न कुल १४ करोड ६५ लाख रुपैयाँ लगानी लागेको प्रधिकरणको भनाइ छ । बत्ती जोड्न टप्सन इनर्जीले ठेक्का पाएको थियो ।
राष्ट्रिय सडक बत्ती प्रवर्द्धन परियोजना प्रमुख प्रमोद रिजालले जोडिएका स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको जानकारी दिए । उनले जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको जानकारी दिए ।
‘सबै गरेर पोखराका ६० किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्छ । यसमा भएको पूरा खर्चमध्ये न्युरोडको डिभाइडर बनाउन एक करोड, मास्ट लाइट सुरक्षाका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ ।
बत्ती जडान गर्न ४ सय ३९ वटा नयाँ पोल जडान गरिएको छ ।