कोरोना संक्रमणबाट बेलायतमा ६१ नेपालीको मृत्यु

२ जेठ, काठमाण्डौ । कोरोना भाइरसले महामारीकै रुपम लिन थालेपछि बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमण सम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको हो ।

नेपाली दुतावास लन्डनबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ ।

एनआरएनए यूकेले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत बताएको छ ।
उनीहरुमध्ये उपचारका लागि अस्पतालमै भर्ना भएका १ सय १५ छन् ।

तथ्यांकले ३७ जना उपचारपछि निको भएर घर फर्किएको तथा १७ जना अझै पनि अस्पतालमा उपचारकै क्रममा अस्पतालमा रहेको देखाएको छ ।
हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका छन् ।

उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका छन् भने ६२ जना अझै पनि आइसोलेसनमै रहेको जनाइएको छ ।
एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको लागि २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयंसेवक गरी कुल १ सय ५१ जना स्वयंसेवकले सहयोग गरिरहेको जनाएको छ ।

संस्थाले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतका साथै भूपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण पनि गरिरहेको छ ।