एम्बुलेन्स, खाद्ययन्न बोकेका गाडीहरु रोकी लुटपाट गर्नेलाई पक्राउ

१ जेठ काठमाण्डौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको समयमा एम्बुलेन्स र तरकारी बोकेको गाडी रोकेर लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका- ४ का २४ वर्षीय सरोज कामी, ३१ वर्षीय राम भगत र २७ वर्षीय शिव शाही छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार मध्यराति पानीघाटस्थित जंगलमा मकवानपुरतिर जाँदै गरेको एम्बुलेन्स उनीहरुले जबरजस्ती राकेका थिए ।
उनीहरुले प्रदेश नं. ३ -०१-२३ च – ११०९ नम्बरको एम्बुलेन्स रोकेर भित्र सवार व्यक्तिको साथबाट ३३ हजार ९ सय ९५ रुपैयाँ र विभिन्न कम्पनीका ६ वटा मोबाइल लुटेका थिए । यही समूहले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा पनि तरकारी ढुवानी गर्ने बोलेरो लुटेको पाइएको छ ।
डीएसपी श्रेष्ठका अनुसार बा ४ ख ९९० नम्बरको इचर तथा ग १ च ७६३३ नम्बरको बोलेरोमा सवार चालकलाई उनीहरुले सादा पोशाकको प्रहरी भएको बताउँदै लुटपाट गरेका थिए ।
उनीहरुविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको बताइएको छ ।