१३ भदौं, काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या २१ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ सुरू भएयता २१ हजार २०६ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।
यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै सुनसरीमा देखिएको छ । सुनसरी जिल्लामा ११ हजार ६५९ जना संक्रमण पुष्टि भएको छ ।
मुलुकभर देखिएको कुल संक्रमणको कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । जसमध्ये ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ ।
नेपालमा डेंगु संक्रमण सन् २००४ मा पहिलोपटक देखिएको थियो । गत वर्ष सबैभन्दा धेरै ५४ हजार ७८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार यस वर्ष पनि डेंगुको जोखिम कात्तिक अन्तिमसम्म रहने छ ।
‘अघिल्ला महिना संक्रमण टे«न्डलाई हेर्दा ह्वातै संक्रमण बढ्ने देखिदैन । सुनसरी जिल्लामा मात्रै संक्रमणको भार बढि देखिन्छ’ डा. दाहालले भने, ‘विभिन्न तथ्यांकलाई विश्लेषण गर्दा कात्तिकसम्म डेंगुको जोखिम छ । तर, अघिल्लो वर्षको भन्दा कम संक्रमित हुने आंकलन गरिएको छ ।’