Breaking News

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड काठमाडौँ आइपुगे

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस अलफोर्ड काठमाडौँ आइपुगेका छन् ।

मङ्गलवार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उपाध्यक्ष अलफोर्ड एमसीसी परियोजना औपचारिक रूपमा सुरुवात गर्न नेपाल आइपुगेका हुन् । एमसीसी परियोजनाको भोलिबाट औपचारिक रूपमा कार्यान्वयन सुरु
हुँदैछ ।

क्यामरुनले नेपाल भ्रमणमा रहँदा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक नेताहरूलाई भेट गर्ने र १५ भदौमा अमेरिका फर्किने कार्यतालिका रहेको छ ।

एमसीसी औपचारिक सुरुवात भएको ५ वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्ने बाध्यतात्मक अवस्था छ । त्यसरी हेर्दा १२ भदौ ०८५ मा यो परियोजना सम्पन्न भइसक्नुपर्छ । एमसीसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरूबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत हुनेछ ।

नेपाल सरकारअन्तर्गतको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले परियोजनाको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ । उक्त परियोजनामा नेपाल र अमेरिकाको संयुक्त लगानी छ ।

एमसीसीको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड डलर लगानी रहने बताइएको थियो । तर, चालु आर्थिक वर्षमा ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर थपिएको छ । एमसीसी परियोजनाअन्तर्गत चार प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमी सडकखण्ड विस्तार तथा मर्मत हुनेछ ।

एमसीसी कार्यान्वयनका लागि नेपालले सन् २०१७ मा नै सम्झौता गरेको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा अमेरिका गएको टोलीले परियोजना कार्यान्वयनका लागि सम्झौता गरेको थियो ।

उक्त सम्झौतालाई २७ फेब्रुअरी २०२२ मा संसदबाट अनुमोदन गरिएको थियो। संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दल र सांसदहरूबीच विवाद भएको थियो। लामो विवाद र रस्साकस्सीका बीचमा एमसीसी संसदबाट अनुमोदन भएको थियो ।

औपचारिक रूपमा कार्यान्वयन सुरु भएपछि २०८५ १२ भदौमा परियोजना निर्माण कार्य सम्पन्न नभएमा नेपाल सरकारले आफ्नै लगानी लगाउनुपर्ने बाध्यता हुन्छ । एमसीसीले परियोजनाको भौतिक प्रगतिअनुसार मात्रै भुक्तानी दिने र समयमा परियोजना सम्पन्न नभए रकम नपठाउने सर्त रहेको छ ।