पूर्वराजा ज्ञानेन्द्र झापामै रोकिए, उनको काठमाण्डौं आउने पास गृहले रद्द गरिदियो

१ जेठ काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउन पास नदिइने भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वराजा दम्पत्तिलाई काठमाडौं आउन पास नदिने निर्णय भएको हो ।

आज बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो ।

खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो । तर गृहले सो निवेदन पनि खारेज गरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरका अनुसार शाहले कारणमा काठमाडौं जाने भन्दै पासका लागि निवेदन गरेका थिए ।

गृह मन्त्रालयले दुई वटा कारणलाई मात्रै पास दिने भएकाले शाहलाई दिन नसकिएको जनाएको छ । मृत्यु संस्कार र बिरामीका लागि चिकित्सकको सिफारिस भएमा मात्रै सवारी पास दिइने गरेको गृहले जनाएको छ । तर शाहको निवेदनमा यी दुवै कारण नपर्ने भएपछि सिफारिस नदिइएको गृहको भनाइ छ ।

समाचार सेतोपाटीबाट