उपत्यका प्रवेशमा पूर्ण रुपमा रोक, कोठा छोडी बाहिर गएकाहरु पुनः आफ्नो कोठामा प्रवेश गर्न नपाइने

१ जेष्ठ, काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रम नरोकिए पछि त्यसको मध्यनजर गर्दै ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।
साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् ।
कतिपयले आफ्ना कर्मचारी आफैं ल्याएका छन् त, कतिपय तरकारी, खाद्यान्य, दुध जस्ता अत्यावश्यकीय वस्तु ढुवानी गर्ने गाडी चढेर आएका छन् ।

तर, यसरी आएकाहरुलाई घरमा प्रवेश नदिन वडा कार्यालयहरुले भने उर्दी जारी गरेको छ । किन त ? ललितपुर ६ का वडाध्यक्ष शाक्यले अनलाइनखबरसँग भने, ‘लकडाउनका बेला गाउँ गएकाहरु घरधनीलाई थाहा नदिएर आउन थाले । यसरी आउँदा अरुले असुरक्षित महसुस गर्न थाले ।

उपत्यका बाहिरबाट आएकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराउने प्रयास पनि नभएको होइन । तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका उनीहरुलाई कुनै लक्षण देखिएको छैन भनेर फर्काइने गरेको छ । र्यापिड डायग्नोस्टिक टेष्ट (आरटीडी)बाट परीक्षण गर्न उपत्यका प्रवेश गरेको १४ दिन पर्खिनुपर्ने हुन्छ । त्यसैले घरधनीलाई जिम्मेवार बनाउनुको विकल्प नभएकाले यस्तो चेतावनीपूर्ण सूचना जारी गर्नुको परेको वडाध्यक्ष शाक्यले बताए ।

शाक्य मात्र होइन, ललितपुर ९ का वडाध्यक्ष राजु महर्जन पनि अहिले यस्तै समस्याले हैरान भएका छन् । ‘लकडाउनका क्रममा बाहिर गएका कोही आयो कि स्थानीय युवाहरु विरोधमा जम्मा भइहाल्छन् र हामीलाई बोलाउँछन्’ महानगरका प्रवक्तासमेत रहेका महर्जनले अनलाइनखबरसँग भने, ‘जहाँबाट आएका हुन्, उतै फर्काउनु
पर्छ । नभए हामी कसरी सुरक्षित रह्यौं भन्छन् । स्थानीयबासीले मान्दै नमानेपछि मैले त १०÷१२ जनालाई फर्काएँ पनि ।

उनले पनि उपत्यका बाहिरबाट आएकाहरुलाई परीक्षण गर्न पठाउने प्रयास पनि गरेका थिए । तर टेकु अस्पताल पुगेकाहरुलाई केही भएको छैन भनेर फर्काइने गरेको छ ।
त्यसैले स्थानीय जनप्रतिनिधिहरु समस्यामा रहेको भन्दै वडाध्यक्ष महर्जन भन्छन्, ‘यति गाह्रो त हिजो बिहान–बेलुकी खाना खुवाउँदा पनि भएको थिएन ।’
काठमाडौं महानगरपालिका वडा नम्बर १० ले पनि बाहिरबाट कोही आएको भए खबर गर्न माइकिङ गर्ने गरेको छ । पछिल्लो समय मानिसहरु फर्किन थाल्दा असुरक्षा बढेकाले यसो गर्नु परेको वडाध्यक्ष रामकुमार केसी बताउँछन् । उनले भने, ‘हाम्रो आग्रह अहिले सकेसम्म नआउनुस् भन्ने नै हो । यदि कोही आइसक्नु भएको छ भने
पनि परीक्षण गराउनुस् भनेका छौं ।

उनकाअनुसार उपत्यकाबाहिरबाट आएकाहरुलाई वडाले पत्र लेखेर नै परीक्षणका लागि टेकु पठाउने गरेको छ । सुरुमा केहीलाई परीक्षण गरे पनि केहीको भएन । आफूहरुले एम्बुलेन्समा हालेर पठाउने तर टेकुमा चेक नगर्ने गरेको विषयमा महानगरसँग कुराकानी गरेपछि अब भने वडाले लिखित पत्रसहित पठाएकाहरुको परीक्षण हुने वडाध्यक्ष केसीले जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलकाअनुसार उनलाई पनि ‘फलाना आयो, फलाना आयो’ भनेर दैनिक २०० बढी फोन आउँछ । ‘पहिला हामीले यहीँ बस्नुस् । राहत दिन्छौं भन्दा घर जाने वातारवरण बनाउनुप¥यो भन्नुभयो, कतिपय हिँडेरै पनि जानुभयो’ काठमाडौं महानगरका प्रवक्ता समेत रहेका महर्जन भन्छन्, ‘अहिले सरकारले उद्योगधन्दा खोल्ने, निर्माणका काम गर्न दिने भन्दा उपत्यकाभित्र काम गर्न पाइने भयो भनेर धेरै मान्छे आएका छन् । यसले ठूलो
समस्या सिर्जना गरेको छ ।

एकैदिनमा ठूलो संख्यामा मानिसहरु आउन थालेकाले अब उपत्यका प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुको विकल्प नभएको प्रवक्ता डंगोलले सुनाए ।

 

 

अनलाइन खबरबाट