Breaking News

संसदको जारी गतिरोध अन्त्यका लागि सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय

काठमाडौं । संसदको जारी गतिरोध अन्त्यका लागि सत्ता गठबन्धनले एमालेसहितका दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ ।

आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको हो ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । तर, सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालिसकेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।