Breaking News

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १०० दिनमा विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउँछु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वैशाख १० गते चितवनमा भएको उपनिर्वाचनका क्रममा एउटा भाषण गरेका थिए- म निर्वाचित भएको १०० दिनमा विदेशमा काम गर्ने कम्तीमा १०० जना नेपालीलाई रोजगारी दिएर नेपाल फर्काउँछु।

लामिछानेले उपनिर्वाचन जितेको बुधबार सय दिन पूरा भएको छ।

मंगलबार राति उनले सामाजिक सञ्जालमा विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर नेपालका विभिन्न क्षेत्रमा रोजगारी दिने भन्दै एउटा विज्ञापन सार्वजनिक गरे।

उनको राखेको विज्ञापनमा ‘जब अपर्च्युनिटी फर नेपाली सिटिजन इन नेपाल’ लेखिएको छ। एकातिर नेपालको नक्सा र अर्कातिर नेपालको झन्डा राखिएको छ।

६ वटा समूहमा रोजगारी खोलिएको छ। मार्केटिङ एन्ड कम्युनिकेसन अन्तर्गत विभिन्न पदमा ४३ जना मागिएको छ। टेक्निकल समूहमा ३५ जना, फाइनान्स एन्ड एकाउन्टिङमा ७ जना, फुड एन्ड वेभरेजमा २७ जना म्यानेजमेन्ट एन्ड एड्मिनिस्ट्रेसनमा ३६ र हेल्थ केयर समूहमा १८ जनालाई रोजगारी दिने गरी विज्ञापन आह्वान गरिएको छ।

यसरी माग गरिएका रोजगारीमा इलेक्ट्रिकल इन्जिनियर १ जना छन् जसको तलब ४५ हजार रूपैयाँ तोकिएको छ। मेकानिकल इन्जिनियरको तलब भने ३५ हजार रूपैयाँ तोकिएको छ। आइटी कम्पनीको सिस्टम एड्मिनिस्ट्रेटरको तलब न्यूनतम तलब ४५ हजार रूपैयाँ तोकिएको छ।

हेल्थकेयर क्षेत्रमा काम गर्न इच्छुक परिचारिका (नर्स) का लागि न्यूनतम तलबमान १८ हजार रूपैयाँ तोकिएको छ। अपरेसन थिएटरको नर्स र ओपिडी नर्सका लागि २०-२० हजार रूपैयाँ तोकिएको छ।

यस्तै, एउटा एसी कम्पनीको मार्केटिङ प्रमुख र त्यसको प्रदेश मार्केटिङ प्रमुखको तलब क्रमश: ३० हजार र २५ हजार र बोनस तोकिएको छ।