Breaking News

११ मध्ये १ जना बन्नेछन् प्रधानन्यायाधीश

काठमाडौं । संवैधानिक परिषदले आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ ।

बहालवाला प्रधानन्यायाधीश शरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि उनको ठाउँमा नयाँ प्रधानन्यायाधीश नियुक्त गर्ने तयारी भएको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर प्रधानन्यायाधीश घर जाने ४ दिनअघि मात्रै बल्ल नयाँ प्रधानन्यायाधीश बन्ने न्यायाधिशको नाम सिफारिस गर्न लागिएको हो ।

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएका व्यक्ति प्रधानन्यायाधीश बन्न योग्य हुने व्यवस्था छ । सर्वोच्चमा हालसम्म वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने परम्परा छ ।

त्यसअनुसार प्रधानन्यायाधीश बन्ने लाइनको पहिलो नम्बरमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् । दोस्रोमा ईश्वरप्रसाद खतिवडा तेस्रोमा डा. आनन्दमोहन भट्टराई रहेका छन् ।

त्यसपछि क्रमसः अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फूयाल र मनोजकुमार शर्मा रहेका छन् ।

माथिका ११ न्यायाधीशमध्येबाट आज एक जनाको नाम सिफारिस हुनेछ । त्यसपछि संसदीय सुनुवाइमार्फत सरकारले आगामी प्रधाननन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनेछ ।