टिचिङका सबै चिकित्सकको कोरोना परीक्षण सँगै ३८ जना चिकित्सकलाई क्वारेन्टाइनमा

१ जेष्ठ बैशाख, काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत एक जनी ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण परीक्षण गर्न थालिएको छ ।

बिहीबार शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

अस्पतालको न्युरो सर्जरी वार्डको बेड नम्बर ५० मा वैशाख ३० गते भर्ना भएकी नाक कान घाँटीकी विरामी ६ वर्षकी बालिकामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालकै गणेशमान भवनमा सारेर आइसोलेसन क्याविनमा उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर बालिकाको कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको पीसीआर टेस्ट गर्ने जनाएको छ ।

बालिकाको सम्पर्कमा पुगेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बसेर बाँकीलाई नियमित काममा गर्न शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले आग्रह गरेका छन् । बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।