आज साउन महिनाको पहिलो दिन अर्थात साउने सक्रान्ती पशुपतिमा भक्तजनहरुको भिड

काठमाडौं । आज साउन महिनाको पहिलो दिन अर्थात साउने सक्रान्ती । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई आज देशभर साउने संक्रान्तिको रुपमा मनाइने गरिन्छ ।

यस दिन असार महिनाभर रोपाइँ गरिने भएकाले हिलो मैलोबाट लाग्ने छालासम्बन्धी रोग निको पार्न भन्दै लुतो फाल्ने चलन पनि नेपाली परम्परामा चलिआएको छ ।

कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालेर लुतो फाल्ने नेपाली परम्परा रहिआएको छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्दछ । आज पशुपतिनाथ मन्दिरसहित देशभरका मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् । आज पशुपतिनाथमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने छैन । पशुपति मन्दिरमा साउने सोमबारको दिन १८१ देखि २५१ जनासम्मले मात्र विशेष पूजा गर्ने व्यवस्था मिलाइएको छ ।

धेरैजसोले साधारण तरिकाले लाइनमा बसेर पशुपतिको पूजा गरे पनि विशेष पूजा गर्नेहरुका लागि छुट्टै व्यवस्था मिलाइएको छ ।