काठमाडौं । अब आईसीसीको विश्वव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पुरुष र महिला खेलाडीले समान पुरस्कार राशि पाउने भएका छन् ।
दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष खेलाडीको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको हो ।
आईसीसी अध्यक्ष ग्रेग बार्कले अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर हुने बताए । उनले खुशी व्यक्त गर्दै यो क्षण खेलको इतिहासमै महत्वपूर्ण भएको बताए ।
पुरस्कार राशी समान बनाउने प्रयास स्वरुप आइसीसीले २०१७ देखि महिला प्रतियोगितामा पुरस्कार बढाउँदै आएको थियो । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र यू–१९ महिला विश्वकपको विजेताले पुरुषकै समान पुरस्कार पाउने छन् ।