Breaking News

सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि : श्रमान् प्रधानमन्त्री प्रचण्ड र छोरीहरु रेनु, गंगाले दागबत्ती दिएर बिदाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको हिजो बुधबार निधन भएको छ । सीता दाहाललाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई श्रीमान् प्रचण्ड र छोरीहरु रेनु, गंगाले दागबत्ती दिएर अन्तिम संस्कार गरिएको थियो २०७४ सालदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट थलिएकी सीताको विगत २ वर्षदेखि ओछ्यान भएर शरीरले प्रतिक्रिया दिन छाडेको थियो ।

बुधबार बिहान अक्सिजनको मात्रा कम हुने र मुटुको चाल घट्दै जान थालेपछि नर्भिक अस्पताल भर्ना भएकी सीताको बिहान ८ः३३ बजे निधन भएको हो ।

बालुवाटारबाट सीतालाई नर्भिक अस्पतालमा लैजाँदा प्रधानमन्त्री प्रचण्ड भने गएका थिएनन् । तर अवस्था गम्भीर भएपछि केहीबेरमै प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए ।

प्रचण्ड पुगेपछि अरु मन्त्री, सांसद, नेता, कर्मचारी, सुरक्षा निकायसहित उच्च पदस्थ व्यक्तिहरु अस्पताल आइपुगेका
थिए ।

सीताको निधन भएको खबर भएपछि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, सञ्चार मन्त्री रेखा शर्मा, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, कानुन मन्त्री धनराज गुरुङ, अर्थ मन्त्री प्रकाशरण महत लगायत नेताहरु पुगेका थिए ।

माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, लगायत शीर्ष नेता, सांसद, कार्यकर्ताले ९ बजेसम्म नर्भिक अस्पताल परिसर भरिभराउ भइसकेको थियो । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरु नर्भिक पुगेर प्रधानमन्त्री प्रचण्डलाई सन्त्वना दिएका थिए ।

भरतपुर महानगरपालिकाका मेयर एवम् सीता दाहालकी छोरी रेनु दाहाल १० बजेमात्रै चितवनबाट काठमाडौं आइपुगेकी थिइन ।

सीतालाई ११ः०० बजे नर्भिकबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा लैजाने तयारी हुँदा नर्भिकभित्र सन्नाटा छाएको थियो । सीताको पार्थिव शरीर बेडबाट उचालेर स्ट्रेचरमा हाल्नु अघि छोरी रेनु र गंगाको आँखाबाट आशुका भेल बगेका थिए । आमाको पार्थिव शरीर नजिक उभिएका उनीहरु भक्कानिएर ‘आमा‍‍‍‍‍।।।’ भन्दै रोए ।

छोरीहरु भक्कानिएपछि नजिकै रहेका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर सम्झाउने र सम्हाल्ने प्रयास गरेका थिए । आफू पनि भावुक भएका प्रचण्डले छोरीहरुको काँधमा हात राखेर ‘अब जे नहुनु भयो।।। म छु तिमीहरुको साथमा।।।’ भन्दै सम्हाल्ने प्रयास गरेका थिए ।

प्रचण्डको भावुकताका बीच छोरीलाई सम्हाल्दै गर्दाको दृश्य निकै भावुक थियो । छोरी रेनु, गंगालाई सम्हाल्दै काँधमा हात राखेर प्रचण्ड नर्भिकबाट पेरिसडाँडा लागेका थिए ।

सीताको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडाँडामा पुर्याएपछि पार्टी पदाधिकारी बैठक बसेर शोक प्रस्ताव पारित गर्यो । प्रधानमन्त्री प्रचण्ड सहित गृह मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्री, सांसद र नेताहरुले क्रमशः श्रद्धाञ्जली दिएका थिए ।

सीतालाई श्रद्धाञ्जली दिन सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर लगायत नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी र प्रधानसेनापति प्रमुख सहित उच्च पदस्थ सुरक्षाकर्मी पुगेका थिए । प्रचण्डका पूर्व सहकर्मी एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य, नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ लगायत नेताहरु श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका थिए ।

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत उच्च पदस्थ व्यक्तिहरु सीतालाई श्रद्धान्जली दिन पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले पत्नी सीतालाई श्रद्धाञ्जली दिए लगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सिंहदरवार हानिएका थिए । मन्त्रिपरिषद् बैठकले सीतालाई ‘फस्ट लेडी’ रुपमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको थियो ।

प्रचण्ड सिंहदरबारबाट पेरिसडाँडा पुग्दा सीतालाई श्रद्धाञ्जली दिन नेता, कार्यकर्ता र शुभचिन्तकले भरिभराउ भइसकेको थियो ।

झण्डै ३ घण्टा सीताको पार्थिव शरीर पेरिसडाँडामा राखेपछि १ः५० बजे आर्यघाट प्रस्थान गरिएको थियो । सो क्रममा प्रचण्ड सहित मन्त्री, सांसद, नेता कार्यकर्ता, शुभचिन्तक अधिकांश पैदल नै पशुपति पुगेका थिए । अर्यघाटमा अन्तिम श्रद्धान्जली दिन एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल, मन्त्री, सांसद नेता कार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका पदाधिकारी लगायत आर्यघाट पुगेका थिए ।