Breaking News

एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमालेले स्पष्टीकरणको मौकासमेत नदिई प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गरेको बताएका छन् । शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको सवालमा उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमाले फसेको उनको भनाइ थियो ।

उनले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय लिएको बताउँदै भने, ‘गठबन्धन सरकारमा सामेल भएका सबै दलहरु बालुवाटारमा अस्ति नै बसेको बैठकमा उपस्थिति थियौँ । राजीनामा गर्नुपर्दैन । एक त एमालेले असंसदीय, गैरसंसदीय व्यवहार देखायो । प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नु पर्दथ्यो । संसद्मा माग गर्ने विषय हुन्थ्यो । र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन । संसद्मा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग स्पष्टीकरण माग्न सकिन्थ्यो । तर, उहाँहरुले पहिल्यै राजीनामा माग्नु भयो । मलाई लाग्छ, संसदीय मोर्चामा एमाले पार्टी फस्यो । यो गलत काम हो ।’

केही दिनअघि प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले राजनीनामा दिर्नैपर्ने एमालेको अडानका कारण बुधबारदेखि संसद बैठक अवरुद्ध भएको छ । शुक्रबार बस्ने संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने बताइएको थियो । तर, शुक्रबार पनि एमालेले संसद चल्न दिएन ।

उपाध्यक्ष राजेन्द्र पाण्डे