काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् । खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
अब दलहरुले असार २१ गतेसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
त्यसपछि एमालेका सांसदहरूले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेका थिए ।
कोशी प्रदेशमा संविधानको धारा १६८ (२)को प्रयोग भइसकेका कारण उपधार ३ अनुसार सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखलाई एमालेको आग्रह थियो ।
संविधानको धारा १६८ को २ मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था उल्लेख छ।
उपधारा ३ मा प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने उल्लेख
छ । कोशी प्रदेशसभाको सबै भन्दा ठूलो दल भएका कारण पुनः सरकारमा जाने एमालेलेको प्रयास निरर्थक बनेको छ ।
कोशी प्रदेशसभामा नेकपा एमालेका सबैभन्दा धेरै ४० छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, नेकपा माओवादीका सभामुखसहित १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । यस्तौ राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का ६ सांसद छन् ।