कर्णालीका तिरैतिर, पचाल झरना अग्ला शिर !

‘दाइ, हामी अस्ति पचाल झरना गाको नि। कस्तो राम्रो रहेछ। हजुर पुग्नुभयो त?’ एउटी बहिनीले सामान्य भेटघाटको क्रममा सोधिन्।

‘नाइँ, छैन नि! अलि पछि जान्छु म।’

मेरो स्वत:स्फुर्त जवाफ उनको अपेक्षाविपरीत परेछ। विस्मित भावमा उनले भनिन्, ‘छिट्टै जानुस् न ल! अनि त्यहाँको बारेमा पनि लेख्नुहोला है?’  म खिस्स हाँसें।

उनी मेरो नियात्राको नियमित पाठक भएको जानकारी पाउँदा खुसी लाग्यो।

पचाल झरना मेरो दृष्टिभन्दा पर थिएन। कालीकोटको बसाइमा पुग्नैपर्ने स्थानको ‘हिट लिस्ट’ मा राखेको थिएँ।

असारको मध्यतिर जाने योजना थियो। वर्षा लागेपछि पानीको आयतन बढ्ने भएकोले झरना झनै सुन्दर देखिने अनुमान गरेको थिएँ। तर उनको अनुरोधले मेरो हुटहुटी बढ्यो। पछि समय मिल्छ या मिल्दैन, अहिले नै जाऊँ न त भन्ने लाग्यो।

जेठ ३० गतेको दिन। क्षणभरमै योजना बन्यो। मित्रजी लगायतका आठ जना सहकर्मी मलाई साथ दिन तयार भए। अपराह्न २:१० बजे मसहित नौ जनाको टोली मान्मबाट पचाल झरनाको लागि हिँड्यौं।

मान्मबाट हुल्म हुँदै कर्णाली करिडोरको बाटोमा गाडीमा हाम्रो यात्रा सुरू भयो। लालीघाट, रेंगिल, सान्नीघाट हुँदै करिब ६:०० बजे भैंसे सैन पुगियो। गाडी पार्क गर्दै गर्दा पानीको छिटा सुरू भयो। हतार हतार झोलुङ्गे पुल तर्दै लाफातर्फ लाग्यौं।

सिमसिम पानी बाक्लिँदै गर्दा गन्तव्यमा पुग्न सकिँदैन कि भनी मित्रजी चिन्तित हुनुभयो।

उहाँको चिन्ता यथार्थमा परिणत गर्न नदिने चाहना भए पनि प्रकृतिसँग हाम्रो के जोर चल्थ्यो र! आत्तिएको मनलाई सम्हाल्दै खुट्टाको बेग बढाउनुको विकल्प थिएन।

सवा छ बजे पचाल झरना गाउँपालिकाको केन्द्रमा पणेक्षा पुगियो। पालिकाका अध्यक्ष लगायतको सिङ्गो टिमको स्वागत सहितको आतिथ्यताले मन द्रविभूत भयो।

बादलले आकाशलाई फेरो मार्यो। रातभरि पानी पर्ने सम्भावना देखियो।

‘झरनासम्म पुग्ने बाटो त्यति सहज छैन, त्यसमाथि पानी पर्‍यो भने त कसरी पुग्नुहोला र सर!’, पूर्ण (पचाल झरना गा.पा.का प्रमुख प्रशासकीय अधिकृत) जीको यो भनाइले थप अनिश्चयको बादल लाग्यो। गन्तव्यमा पुग्न सकिँदैन कि भन्ने चिन्ताले यात्रामा संशय थपियो।

खिन्नताका बाबजुद केहीबेर गफगाफ गर्यौं। अनि स्थानीय स्वादको खानासँगै त्यस रातलाई त्यहीँ बिसाउने निधो गर्यौं।

झमझम पानीसँगै मन शितल बनाई बेडमा ढल्किनै लाग्दा मोबाइलको नोटिफिकेसनले मेरो मौनता चिर्यो।

‘म्यासेज सेन्डर’ थिइन् कविता चापागाईं। प्लान इन्टरनेसनलको परियोजना विज्ञको रूपमा कालीकोट खटिएकी उनले हामीसँगै जान औधी मन गरेकी थिइन्। मौसम पूर्वानुमान हेर्दै कल गरेकी रहिछन्। भोलिपल्ट मौसम सफा हुने सन्देश सहितको शुभेच्छाले आङ्गमा घाम लागेको महसुस भयो। कारणवश सँगै जान नपाएकी उनले झरनाको तस्वीर हेर्न आतुर रहेको जानकारी समेत गराइन्।

३१ गते बिहान उठ्दा मौसम सफा देखियो। रातभरि परेको पानीले चिन्तित मनमा हर्षका किरण सञ्चारित भए। मानौं, हामीलाई ठूलै सफलता मिलेको छ।

पचाल झरना जाने बाटोमा दुई खण्ड रहेछन्। पणेक्षादेखि खार्दुसम्म पहिलो खण्ड अनि खार्दुदेखि झरनासम्म दोस्रो खण्ड। केन्द्रबिन्दु भने खार्दु गाउँ। पहिलो खण्ड ठाडै उकालो र दोस्रो खण्ड तेर्सो। पहिलो खण्डमा मोटरबाटोको ट्र्याक बनिसकेको। तर भैंसे सइनदेखि लाफा जोड्ने मोटरेवल पुल नभएकोले मोटरसाइकल मात्र जाने गरेको। दोस्रो खण्डमा पर्यटकीय पदमार्ग बनिरहेको।

पैदल यात्रामै रमाउने हामीले दुबै खण्ड हिँडेरै पार गर्ने निधो गर्यौं। पणेक्षाबाट दुई जना सारथी थपिए। हाम्रो संख्या ११ भयो। पौने छ बजे पदयात्राको लागि तयार भयौं।

झरनाको पानीले बनेको खोलाको जलले सिंचन गरी खोलामाथि बनेको नयाँ पुल तर्यौं  अगाडि देखिने पहाडको सौन्दर्य आँखामा राखी छिट्टै झरनामा पुग्ने अभिलाशाका साथ यात्रा सुरू भयो।

बाटो तर्पिउँ-तर्पिउँ थियो। केही अगाडि लाफागाड साना जलविद्युत आयोजना (स्थानीय हाइड्रोपावर) रहेछ। त्यहाँबाट भने चिउँडो नै ठोकिने उकालो यात्रा सुरू भयो।

यात्रामा बढेको स्वासलाई छिनछिनमा बिसाउँदै चौथा पुगियो। चौथाको सानो गाउँमा रहेको धाराले पानी प्यास मात्रै मेटाएन, शरीरमा स्फूर्ति समेत बढायो। खुट्टा लम्काउँदै केहीबेर हिँडेपछि खलाबैनी पुगियो। लाफाबाट आएको सडक नागबेली हुँदै उकालो चढ्दै यहीँ आएर भेट हुने रहेछ। केहीबेर मोटर बाटोमा हिँडेपछि हामी खार्दु गाउँ पुग्यौं।

पणेक्षाबाट करिब २ घण्टाको पैदल यात्रामा पुगिने गाउँ रहेछ यो।

स्वास्थ्य अवस्था प्रतिकूल रहेका वडा अध्यक्ष कृपालाल कठायतलाई भेटी शिघ्र स्वास्थ्य लाभको कामना गरियो। कार्यबाहक अध्यक्ष दानबहादुर कठायतको स्वागत आत्मीय थियो। उनीसँगै गाउँको वस्तुस्थितिबारे सामान्य जानकारी लियौं। उनले विगत केही वर्षयता पहिरोको शिकार भएको खार्दु गाउँ उच्च जोखिममा रहेको र गाउँका बासिन्दा हरेक मनसुनमा त्राहीमाम भई बस्नुपर्ने अवस्था रहेको जानकारी गराउँदा दु:ख लाग्यो।

खार्दु पुगेपछि दुई वटा पदमार्ग भेटियो। एउटा मार्ग उनीकोट दरबारतर्फ जाने रहेछ भने अर्को मार्ग पचाल झरनातर्फ। हाम्रो गन्तव्य दोस्रो मार्गतर्फ भएकोले झरनातर्फ लम्कियौं।

दानबहादुर सहित दुई जना सहयात्री थपिए यात्रामा। गाउँबाट करिब आधा घण्टामा कोट पुगियो।

झरनाबाट करिब ३ कि. मि. वरै रहेको यस स्थानबाट देखिने पचाल झरनाको भ्युले चुम्बकले तानेझैं आँखा तान्यो। टाढा भए पनि यहाँबाट झरना पूरै देखिने र पृष्ठभूमिको ‘ल्याण्डस्केप’ ले झरनाको सुन्दरता बढाउने भएकोले यहाँ भ्यु प्वइन्ट बनाइएको जानकारी पाइयो।

आँखाले रहर पुगुन्जेल झरनालाई हेरी क्यामेरामा केही थान तस्विर कैद गरियो। अनि प्रफुल्लित मुद्रामा ‘कर्णालीका तिरैतिर, पचाल झरना अग्ला शिर…’ बोलको डेउडामा साथ दिँदै माहौललाई सांगीतिक बनायौं।

हाम्रो गन्तव्य धेरै टाढा थिएन। यात्रा निरन्तर अगाडि बढ्दै रह्यो। बाटोमा भेटिने सिस्ने कांक्री (सिस्नुको बोटमा फलेको फल) खाँदै भोकलाई पर धकेल्दै अगाडि बढ्यौं।

पदमार्गको तल्लो किनारमा रहेको बुढेत्तोको रातो फूल अनि ठूला पातले मेरो गाउँको जंगलमा पाइने भट्टेको झल्को दियो। बचपनमा भट्टेको पातमा ऐंसेलु टिपेर खाएको याद ताजा भयो।

विगतको स्मरणमा रमाउँदै नयाँ भुगोलको दृश्यपान गर्दै जाँदा एकैछिनमा चुलेमी कटेर खिब्ला पुगिएछ। सजिलो बाटो भएकोले यात्रा निरन्तर नै रह्यो।

केहीबेरमा झुल छहरा खोलामा पुगियो। पुग मालिकाको पानी ढँडारमा जम्मा भई झुल छहरा खोला बनेको जानकारी दिए दान बहादुरले।

खोलाको माथि झोलुङ्गे पुल बन्दै गरेको रहेछ। जङ्गलतर्फको अस्थायी बाटोबाट अगाडि बढ्यौं। काठको दुई वटा फट्टा राखी खोला माथिको बनेको अस्थायी पुल होसियारीका साथ तर्यौं।

झुल छहरा खोलाले करिब १०० मि. अग्लो सुन्दर झरना बनाएको रहेछ। एकनासको आवाज, शान्त बहाव अनि वरिपरिको वातावरणलाई चिस्याउने पानीका मसिना बुँदहरूले एकछिन मन बहलायो।

खोलासँगको केहीबेरको अंकमालपछि भराणा पाटो हुँदै पदयात्राको अन्तिम बिन्दुमा पुगियो। भिरालो परेर बसेको राफा ढुङ्गाले पदमार्गको अन्तिम बिन्दुको पहिचान बोकेको रहेछ।

झरनाको स्पर्श गर्न जानेलाई यसले निकै जोखिम बढाएको रहेछ। निकै कम यात्रुले मात्रै यो ढुंगा पार गरेर झरनामा पुग्न सक्ने रहेछन्।

राफा ढुङ्गाको छातीमा मायालु स्पर्शका साथ पैताला राखी सावधानीका साथ पार गरियो। पणेक्षाबाट सुरू गरेको करिब ४ घण्टाको एकतर्फी पैदल यात्रामा ‘मोस्ट अवेटेड’ झरनामा पुगेसँगै हाम्रो प्रतीक्षाको घडी सकियो।

ओहो! कति सुन्दर झरना। भिमकाय चट्टानमा सिरानी हाली लहरिएको पानीको दृश्यले निकै मोहित बनायो। झरनालाई एक तमासले हेर्दै गर्दा आफैं टोलाएछु। अनि एक्कासि खुसीले भरिएको मन सम्हाल्न नसकी पागलझैं चिच्याउन थालेछु। आफ्नो आवाज चट्टानमा ठोकिई कानमा गुञ्जिँदा आफैं डराएको पललाई साथीहरूले क्यामेरा कैद समेत गर्न भ्याएछन्।

बेपर्वाह खुसीका साथ एक उन्मत्त साँढेझैं बे-लगाम भई झरनाको आसपासमा दौडिँदा मेरा सहकर्मीहरु चिन्तित भएको जानकारी पाएँ। दुई खण्डमा विभक्त झरनाको बीच भागमा थियौं हामी। तल सिधै भिर। सामान्य असावधानीमा समेत करिब १०० मिटर तल झर्न सक्ने अवस्था थियो।

प्यास बढेको थियो। झरनाको चिसो पानी बोतलमा भरी प्यास मेटाएँ। माथिबाट खसेको झरना चट्टानको तेर्सो भागमा ठोक्किँदा आएको दबाबले बेला-बेलामा पानी उकालोतर्फ फैलिन्थ्यो। अनि पुन: तल झर्ने बेलामा साविकको बाटो फेर्थ्यो। यस अवस्थामा झरनामा अनौठो उत्तेजना देखिन्थ्यो। झरनामा टाँसिएर तस्वीर लिन खोज्ने सबैलाई नशालु झरनाले चुम्न खोजको भान हुन्थ्यो। यो दृश्य निकै हेर्नलायक थियो।

पुलकित हुँदै कोही टिकटक बनाउन थाले। कोही परै झरनालाई क्यामेरामा कैद गर्न उपयुक्त स्थानको छनोट गर्न थाले। सबैको ध्यान झरनाको सुन्दरता क्यामेरमा उतार्ने थियो। नांगो आँखाले देखेको प्रकृतिको सुन्दरता अनुपम थियो। क्यामेराले यो दृश्यलाई कैद गर्न नसकेको भाव सबैको अनुहारमा पढ्न सकिन्थ्यो।

अपेक्षा गरेजस्तो तस्वीर कसैले पनि खिच्न सकेनन्। फगत क्यामेराले यस्तो मनमोहक दृश्य कैद गर्न सक्ने भए यति बिघ्न कष्ट गरी-गरी मानिसहरू किन त्यहाँ पुग्थे र! तै पनि हाम्रो कोसिस जारी रह्यो। मोबाइलमा चार्ज बाँकी रहेसम्म फोटो र भिडिओ खिची नै रह्यौं।

वास्तवमा पचाल झरना कालीकोटको एउटा पहिचान रहेछ। करिब ५ वर्ष अघि पचाल झरना गाउँपालिकाको प्राविधिक टोलीले मापन गर्दा झरनाको उचाइ ३८१ मिटर पाइएकोले नेपालको सबभन्दा अग्लो झरना भनी सूचीकृत भएको तेह्रथुमको ह्यातुंग झरना भन्दा पनि १६ मिटर अग्लो रहेको स्थानीयले दाबी गरेका छन्।

प्रसिद्ध धार्मिकस्थल चुलीमालिकाबाट आएको हुनाले यस झरनालाई धार्मिक हिसाबले समेत महत्वपूर्ण मानिएको छ। हिउँदमा दुई भागमा विभक्त हुने अनि वर्षामा एउटै विशाल छाँगो बन्ने यस झरना कालीकोटको विकासमा सम्भावना बोकेको पर्यटकीय स्थल रहेको तथ्य बोकी पुन: मान्मतर्फ फिर्ता भयौं।

सेतोपाटीबाट