मान्छेको ज्यान भन्दा आर्थिक ठूलो होइन भोलिबाट लकडाउन कडा गर्नुहोस्

प्रधानमन्त्री

३० वैशाख, काठमाण्डौ । हिजो सोमबार २३ र आज मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । संक्रमितको संख्या २ सय १७ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् ।

मन्त्रिपरिषदको आज मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश पोख्दै अहिलेको अवस्थालाई लकडाउन नै भनिँदैन भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । उनले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् । मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् ।सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट देशले अर्को क्षति बेहोर्न सक्ने बताएका यही । उनले लकडाउनमा खेलाँची गरिएको र यसले ठुलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था हुने समेत बताए । प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।

अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् । प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।