Breaking News

नेपालको क्रिकेट विश्वकप खेल्ने सपना अधुरो

काठमाडौं । नेपालको क्रिकेट विश्वकप खेल्ने सपना अधुरो भएको छ । शनिबार जिम्बावेको हरारेमा समूहको अन्तिम चरण खेलमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपालको विश्वकप सपना समाप्त भएको हो ।

शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको छ । नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपर सिक्समा प्रवेश गरेको छ । नेपाल रहेको समूहबाट यसअघि नै जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुगिसकेका थिए ।

नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । लो स्कोरिङ खेलमा नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे । प्लेयर अफ द म्याच ओडाउटले ७५ बल खेल्दै ८ चौका र ४ छक्काको मद्दतले ९० रन बनाए । उनले पहिलो विकेटका लागि विक्रमजीत सिंहसँग ८६ रनको साझेदारी गर्दै जीतको आधार खडा गरेका थिए ।

नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरेका थिए । लामिछानेले नै वेस्ली ब्यारेसीले ३ रनमा आउट गरेका थिए । ओडाउटले ३० बलमै ५० रन पूरा गरे ।

टस हारेर ब्याटिङ गरेको नेपाललाई सुरुदेखि नै नेदरल्यान्ड्सले दबाबमा राखेको थियो । टिमको स्कोर ७ हुँदा नेपालले ओपनर आसिफ शेखलाई गुमाएको थियो ।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ३९ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजेपनि कुनै ब्याट्सम्यानले उल्लेख्य साझेदारी गर्न सकेनन् । भुर्तेलले २७ र सार्कीले २२ रन बनाए । ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।

नेपालका लागि सबैभन्दा बढी ३३ रन क्याप्टेन रोहित पौडेलले बनाए भने सन्दीप लामिछानेले २७ बनाए । कुशल मल्लले १२ र दीपेन्द्रसिंहले १४ रन बनाए । आरिफ शेख ६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बीकले ३, विक्रमजीत सिंहले २ र क्लाटन फ्लोयड तथा आर्यन दत्तले १–१ विकेट लिएका थिए । नेपालको कमजोर प्रस्तुतीले नेदरल्याड्सलाई विश्वकपमा प्रवेश गर्न सहज बन्यो ।